पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य रहेका युवा नेता विष्णु पुनले पोखरालाई नेपालको पर्यटन तथा व्यावसायिक राजधानीका रूपमा विकास गर्न कोरला नाकालाई सहज र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।
पुनले फेसबुकमा लामो स्टाटस लेख्दै नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना र दिगो विकासका लागि अब नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको बताएका हुन् । उनले पर्यटन, व्यापार, लगानी र रोजगारीका क्षेत्रमा पोखराले राष्ट्रिय अर्थतन्त्रलाई नयाँ दिशा दिन सक्ने बताए ।
प्राकृतिक सौन्दर्य, भौगोलिक अवस्थिति, अन्तर्राष्ट्रिय विमानस्थल तथा चीनसँगको सम्भावित व्यापारिक पहुँचका कारण पोखरालाई पर्यटनसँगै व्यावसायिक गतिविधिको प्रमुख केन्द्र बनाउन सकिने पुनको भनाइ छ ।
पोखराको आर्थिक रूपान्तरणका लागि पर्यटनलाई मात्र प्राथमिकता नदिई व्यापार, कृषि, उद्योग, सूचना प्रविधि र सेवा क्षेत्रसँग जोड्नुपर्ने उनले बताए । फेवाताल, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण क्षेत्र, बेगनास तथा रूपा ताललगायतका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाका कारण पोखरा विश्व पर्यटन नक्सामा स्थापित भइसकेको उनको भनाइ छ ।
सूर्य तारा क्लब पोखराका अध्यक्षसमेत रहेका पुनले पोखराको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण विषयका रूपमा मुस्ताङको कोरला नाकालाई अघि सारेका छन् । नेपाल–चीन व्यापारको सम्भावित प्रमुख मार्गका रूपमा रहेको कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके पोखरा र गण्डकी प्रदेशले ठूलो आर्थिक लाभ लिन सक्ने उनले बताए ।
नाकाबाट हुने व्यापारिक प्रक्रिया सरल, छिटो र पारदर्शी बनाउनुपर्ने, भन्सार प्रणालीलाई आधुनिक प्रविधिमा आधारित बनाउनुपर्ने तथा पोखरा–कोरला सडकलाई अन्तर्राष्ट्रिय व्यापारिक करिडोरका रूपमा विकास गर्नुपर्ने उनको सुझाव छ ।
त्यसैगरी पोखरामा ड्राइपोर्ट, गोदाम, चिस्यान केन्द्र, कार्गो व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय व्यापार सेवा केन्द्र स्थापना गर्नुपर्ने पुनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रुवाहक उडानमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय कार्गो सेवासँग जोड्न सके स्थानीय कृषि उत्पादन, जडीबुटी, हस्तकला तथा अन्य उत्पादनलाई बाह्य बजारसम्म पुर्याउन सकिने उनले उल्लेख गरे ।
यसबाट स्थानीय उत्पादनको मूल्य वृद्धि हुनुका साथै युवाका लागि रोजगारीका नयाँ अवसर सिर्जना हुने उनको विश्वास छ ।
पोखरालाई केवल पर्यटक आउने सहरका रूपमा नभई लगानी गर्ने, व्यवसाय सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने सहरका रूपमा विकास गर्नुपर्ने पुनको भनाइ छ । यसका लागि निजी क्षेत्र, स्थानीय तह, प्रदेश र संघीय सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए ।
कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आए, पोखरा–कोरला करिडोर व्यवस्थित बने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा उपयोग गर्न सकिए आगामी दशकमा पोखरा नेपालको गतिशील आर्थिक केन्द्र बन्न सक्ने पुनको दाबी छ ।
उनले सम्भावनाको चर्चा मात्र नगरी त्यसलाई योजनामा र योजनालाई कार्यान्वयनमा रूपान्तरण गर्ने नेतृत्व आवश्यक रहेको बताए । समृद्ध पोखरा, समृद्ध गण्डकी र समृद्ध नेपाल निर्माणका लागि राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिक एकजुट भएर सम्बन्धित निकायलाई खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।
‘कोरला नाका सहज बनाऔँ, व्यापार बढाऔँ र पोखरालाई पर्यटन तथा व्यापारको केन्द्रका रूपमा विकास गरौँ,’ पुनले भनेका छन् । उनी नेपाल खेलकुद महासंघका सचिव समेत हुन् ।
















