पोखरा । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि चिल्ड्रेन–नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । यसका अलावा संस्थाले बाढी प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, लत्ताकपडा तथा व्यक्तिगत स्वास्थ्य र सरसफाइसँग सम्बन्धित राहत सामग्रीसमेत वितरण गरेको छ ।
बाढीबाट प्रभावित नुवाकोटको किस्पाङ गाउँपालिका र रसुवाको उत्तरगया गाउँपालिकाका परिवारलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको हो । किस्पाङ गाउँपालिकाको समन्वय तथा सहकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिकको समन्वयमा प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको चिल्ड्रेन–नेपालले जनाएको छ ।
संस्थाका अध्यक्ष शान्त पौडेल, कोषाध्यक्ष कुलप्रसाद पौडेल र कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मासहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गर्नुका साथै बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको थियो ।
टोलीले तीन दिनसम्म प्रभावित क्षेत्रमा रहेर राहत वितरण तथा स्थलगत अवस्थाको अवलोकन गरेको र आज भदौ २३ गते पोखरा फर्किएको कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले जानकारी दिए ।
राहत वितरणका क्रममा खाद्यान्न, लत्ताकपडा, व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका सामग्री प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो । बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गरी सहयोग पुर्याउने उद्देश्यले राहत कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
राहत सामग्री व्यवस्थापन, संकलन तथा वितरणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, किस्पाङ गाउँपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय नागरिक तथा अन्य सरोकारवाला निकायप्रति चिल्ड्रेन–नेपालले आभार व्यक्त गरेको छ ।
















