पोखरा । सिटीवान टेलिभिजनले आयोजना गरेको प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ को उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहले जितेको छ ।
हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा सहभागी सवै समूहलाई पछि पार्दै ऊर्जाशील दिदीबहिनी समूह प्रथम भएको हो । विजेता समूहले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सहनशील दिदीबहिनी समूह द्वितीय, डियर वाक पोखरा स्कुल तृतीय तथा कमलजैशी आमा समूह सान्त्वना भएका छन् । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे ।
विधागततर्फ उत्कृष्ट नृत्यमा सृजना सेकेन्डरी स्कुल, उत्कृष्ट भेषभूषामा बुहारी सशक्तीकरण समाज र उत्कृष्ट शब्दतर्फ स्याङ्जाको महिला दीपज्योति आमा समूह पुरस्कृत भए । उनीहरूले ५ -५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे ।
विजयी प्रतियोगीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपाने, सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापति, कार्यक्रम संयोजक शुष्मा थापा पाण्डेलगायतले पुरस्कार वितरण गरे ।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कुलपति न्यौपानेले नेपाली मौलिक संस्कृतिको संरक्षणमा तीज गीत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए । विगतमा पीडा र खुसीका भावनालाई मौखिक रूपमा धारा प्रवाह गीतमार्फत प्रस्तुत गर्ने परम्परा रहेको स्मरण गर्दै उनले अहिले लेखेर तथा टाइप गरेर गीत प्रस्तुत गर्ने क्रम बढेको बताए ।
तीज गीतमा साहित्यिक भावनासँगै अभिनय, गीत, बाजा र नृत्य समेटिने भएकाले यसले महत्वपूर्ण सन्देश प्रवाह गर्न सक्ने उनको भनाइ थियो । तीज गीत लोकगीतकै एउटा स्वरूप भएको उल्लेख गर्दै उनले यो गण्डकी प्रदेशको सांस्कृतिक गौरवको महत्वपूर्ण पाटो भएको बताए । यस्ता गीतलाई लिपिबद्ध गरी संरक्षण गर्न सके भविष्यमा अनुसन्धानका लागि समेत सहज हुने उनले बताए ।
यसअघि उद्घाटन सत्रमा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुलीले विषम परिस्थितिका बाबजुद संस्कृति संरक्षणका लागि प्रतियोगिता आयोजना गरिनु महत्वपूर्ण भएको बताइन् । दुःखमा साथ दिने उद्देश्यसमेत कार्यक्रमले राखेको उल्लेख गर्दै उनले शोकमा मात्र सीमित नभई त्यसलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिइन् ।
पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले भोटेकोशी बाढीपीडितका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको उल्लेख गर्दै पीडितलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिन आग्रह गरे ।
प्रतियोतिा कार्यक्रमका अध्यक्ष तथा सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतिले मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले निरन्तर तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको बताए । यसपटकको परिस्थिति फरक रहेकाले कार्यक्रम प्रभावित भए पनि संस्कृति संरक्षणसँगै पीडितको मनमा मलम लगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
कार्यक्रम संयोजक शुष्मा थापा पाण्डेले सिटीवानको मौलिक संस्कृती संरक्षण गर्ने अभियान क्यालेण्डरमै राखिएको भएपनि रसुवाको भोटेकोशी वाढी आउँदा हजारौ नेपालीले ज्यान गुमाउनु परेको स्मरण गर्दै प्रभावित र पीडितको राहतका लागि कार्यक्रम परिमार्जन गरिएको जानकारी दिईन् ।
प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रशासनिक सचिव तथा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जीवन दाहाल थिए । निर्णायकमा प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष प्राज्ञ रामजी पौडेल र प्रतिष्ठान गण्डकीकी पूर्व सदस्य सरस्वती लामिछाने रहेका थिए ।
‘तीजको बेला सिटीवानको सांस्कृतिक मेला, प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३’ यसपटक रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित भएकाहरूलाई समर्पण गरिएको थियो ।
भाद्र २३ र २४ गते आयोजित यस प्रतियोगिताको मुख्य प्रायोजक पशुपति पेन्ट्स रहेको थियो । गृहलक्ष्मी ग्यास उद्योग, नेपाल मणिपाल शिक्षण अस्पताल, कर्माचार्य ग्रुप, सुजल फुड्स, चरक मेमोरियल अस्पताल, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल), मुक्तिनाथ विकास बैंक, गरिमा विकास वैक, युनाईटेड अजोड ईन्स्योरेन्स, लगायतका संस्थाले प्रतियोगितालाई सहयोग तथा प्रायोजन गरेका थिए ।
कार्यक्रम स्थलमा नेपाल मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । दर पार्टनरका रुपमा एन एस एस डेरीको दर्पण मोही रहेको थियो भने ड्रेस पार्टनरका रुपमा चिप्लेढुङ्गाको सिजन ईम्पेक्स रहेको थियो । कार्यक्रमको विशेष सहयोगीका रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठान रहेको थियो । प्रतियोगिताबाट बचत भएको रकम बाढीबाट प्रभावितलाई सहयोग गरिने प्रबन्ध निर्देशक श्रेष्ठले जनाइन् ।
कार्यक्रमको सञ्चालन टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठ र प्रस्तोता रिमा शाही ठकुरीले गरेका थिए ।
















