पोखरा। पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा २ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको आठौँ दिन बुधबार मात्रै ४० लाख ७४ हजार रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।
महायज्ञ बिहीबार दिउँसो ३ बजे समापन गर्ने तयारी गरिएको प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए। उनका अनुसार महायज्ञमा भक्तजन तथा दानवीरको उत्साहजनक सहभागिता र सहयोग निरन्तर बढिरहेको छ।

बुधबार महायज्ञमा तालबाराही आरती सेवा समितिले आरती प्रस्तुत गरेको थियो भने आयोजकका तर्फबाट लाखबत्ती र लक्ष्यदीप प्रज्वलनसमेत गरिएको थियो।
धार्मिक अनुष्ठानसँगै सामाजिक अभियानका रूपमा महायज्ञ अघि बढेपछि भक्तजनको उत्साहजनक सहभागिता देखिएको उनको भनाइ छ।
पोखरा–५ का विभिन्न टोल विकास संस्था, आमा समूह तथा स्थानीय समुदायसँगै छिमेकी वडाबाट समेत श्रद्धालु तथा दानवीरहरू महायज्ञमा सहभागी भइरहेका छन्।

धार्मिक आस्था, सामाजिक एकता र मानवीय सेवाको भावनालाई जोडेर महायज्ञ सञ्चालन गरिएको समिति सचिव लक्ष्मण कोइरालाले बताए। उनका अनुसार महायज्ञ आयोजकको लक्ष्य अनुसार नै सफल भएको छ।

प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समिति अध्यक्ष शिव पराजुलीका अनुसार महायज्ञबाट संकलित रकममध्ये केही हिस्सा हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगमा प्रदान गरिनेछ। मन्दिर पुनःनिर्माणको अभियानमा वडावासीको अभूतपूर्व एकता देखिएको र छिमेकी वडाबाट समेत सहयोगको क्रम बढिरहेको उनले बताए।

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्। भक्तजन कथा श्रवणसँगै भजन–कीर्तन, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्।

महायज्ञबाट संकलित रकम सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणमा खर्च गरिनेछ। नयाँ मन्दिर आगामी महाशिवरात्रिमा उद्घाटन गर्ने तयारी गरिएको छ।
चार ढोका र पञ्चमुखी शिवलिङ्गसहित आकर्षक शिवालयका रूपमा मन्दिर पुनःनिर्माण गरी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

सन्तानेश्वर महादेवलाई सन्तान प्राप्ति तथा कल्याणको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। स्थानीय लीलाधर कोइरालाले करिब ९२ वर्षअघि मन्दिर स्थापना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0