पोखरा । पोखरा महानगरपालिकाले तिहार पर्वलाई लक्षित गर्दै प्लास्टिकजन्य फूलमाला तथा फूलगुच्छाको बिक्री, वितरण र प्रयोग नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । महानगरपालिकाले वातावरण संरक्षणसँगै स्थानीय फूल उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्न अनुरोध गरेको हो ।
नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लास्टिकजन्य फूलगुच्छाको बिक्री, वितरण तथा भण्डारण निषेध गरिएको उल्लेख गर्दै महानगरले उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाले सार्वजनिक गरेको अनुरोधमा तिहारका बेला व्यवसायीलाई प्लास्टिकजन्य फूलमाला बिक्री तथा वितरण नगर्न र उपभोक्तालाई समेत त्यस्ता फूलको प्रयोग नगर्न भनिएको छ । महानगरले आयातित तथा प्लास्टिकजन्य कृत्रिम फूलको सट्टा स्थानीयस्तरमा उत्पादित सयपत्री, मखमलीलगायतका प्राकृतिक फूल प्रयोग गर्न विशेष आग्रह गरेको छ ।
पछिल्लो समय तिहारमा सजावट तथा भाइटीकाका लागि प्लास्टिकजन्य कृत्रिम फूलमालाको प्रयोग बढ्दै गएको अवस्थामा यसले वातावरणमा पार्ने नकारात्मक असर न्यूनीकरण गर्न महानगरले यस्तो पहल गरेको जनाएको छ । प्लास्टिकजन्य सामग्रीको प्रयोगले वातावरण प्रदूषण बढाउनुका साथै स्थानीय कृषकले उत्पादन गरेका फूलको बजारसमेत प्रभावित हुने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने महानगरको भनाइ छ ।
महानगरले यस अभियानलाई सफल बनाउन सरकारी तथा गैरसरकारी संघसंस्था, व्यवसायी, उपभोक्ता र सर्वसाधारण सबैको सहयोग अपेक्षा गरेको छ । स्थानीय फूलको प्रयोगले वातावरण संरक्षणमा योगदान पुग्नुका साथै स्वदेशी उत्पादनको बजारीकरण, स्थानीय कृषकको आयआर्जन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले स्थानीय फूलको प्रयोग गरी वातावरण संरक्षण गर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सबैमा अनुरोध गरेका छन् ।
महानगरले ‘स्थानीय फूल प्रयोग गरौँ, पर्यावरण बचाऔँ, स्थानीय उत्पादन प्रोत्साहन गरौँ’ भन्ने सन्देशसहित तिहारमा प्लास्टिकजन्य फूलमालाको सट्टा प्राकृतिक फूल प्रयोग गर्ने संस्कृतिको विकास गर्न आग्रह गरेको छ ।
















