पोखरा। तिहार पर्वलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले स्थानीयस्तरमा उत्पादित सयपत्री फूलको बिक्री वितरणका लागि १७ वटा स्थान निर्धारण गरेको छ। महानगरपालिकाले कात्तिक २२ गतेदेखि स्थानीय उत्पादनको बिक्री सुरु गर्ने व्यवस्था मिलाउँदै फूल बिक्री हुने स्थान र मूल्यसमेत सार्वजनिक गरेको हो।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाले सार्वजनिक गरेको सूचनाअनुसार सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ र फूलमाला प्रतिमाला २०० रुपैयाँ कायम गरिएको छ।

महानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका फूललाई बजार उपलब्ध गराउने तथा प्लास्टिकजन्य कृत्रिम फूलमालाको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ। यसबाट स्थानीय कृषकको उत्पादनले उचित बजार पाउने, कृषिमा आधारित स्वरोजगार प्रवर्द्धन हुने र स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

फूल बिक्रीका लागि पोखरा १ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र र टुँडिखेलस्थित पुरानो वडा कार्यालय, पोखरा २ को संगमचोक कृषि बजार, पोखरा ५ को नयाँ वडा परिसर, पोखरा ६ को सुलभ उपभोक्ता सहकारी, पोखरा ९ को महेन्द्रपुल फल्चा, पोखरा कोसेली घर पृथ्वीचोक, सिद्धार्थचोक चौतारी, पोखरा १० काे पोखरा रङ्गशाला, पोखरा १३ को किसान बजारलाई तोकिएको छ ।

यसैगरी पोखरा १४ वडा कार्यालय परिसर, पोखरा १५ को किसान बजार, पोखरा १६ र १९ को ठूलिपोखरी किसान बजार, पोखरा १७ को किसान बजार विरौटा, पोखरा ३० को किसान बजार खुदी, पोखरा ३१ को कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था वेगनास ताल र पोखरा २७ को कृषि उपज थोक बजार गरेर महानगरका विभिन्न १७ स्थान तोकिएका छन्। महानगरले तोकेका स्थानबाट स्थानीयस्तरमा उत्पादित फूल तथा फूलमाला खरिद गर्न नगरवासीलाई आग्रह गरेको छ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकलाई बजारको सुनिश्चितता तथा वातावरण संरक्षणका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले तिहारमा स्थानीय फूल प्रयोग गर्न र प्लास्टिकजन्य कृत्रिम फूलमालाको प्रयोग नगर्न नगरवासीलाई अनुरोध गरेका छन्।

तिहारमा फूलमालाको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके किसानलाई प्रत्यक्ष लाभ पुग्नुका साथै बाहिरबाट आयात हुने फूलमालामा निर्भरता घटाउन पनि सहयोग पुग्ने महानगरको अपेक्षा रहेको कडरियाले खुलाए ।

महानगरपालिकाले ‘स्थानीय फूल प्रयोग गरौँ, वातावरण बचाऔँ, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने सन्देश सहित नगरवासीलाई स्थानीय उत्पादनको प्रयोगमा जोड दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0