पोखरा । गण्डकी प्रदेशमा ललितकलाको विकास, प्रवर्द्धन र समसामयिक कलाको वैचारिक बहसलाई विस्तार गर्ने उद्देश्यले गण्डकी प्रज्ञा–प्रतिष्ठानले ललितकला विमर्श कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशको ललितकलाको अवस्था तथा नेपाली समसामयिक कलामा प्रयोगधर्मी र आधुनिक कला, सस्तो र लोकप्रिय कला तथा विचार प्रधान कलाबीचको वैचारिक बहसका विषयमा दुईवटा गोष्ठीपत्र प्रस्तुत गरिएका थिए।
त्रिभुवन विश्वविद्यालय, ललितकला केन्द्रीय विभागका उपप्राध्यापक पकबहादुर थापा र गैँडाकोट प्रज्ञा–प्रतिष्ठान, नवलपुरका उपकुलपति भीमप्रसाद शर्माले आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथिको छलफलमा सहभागीहरूले गण्डकी प्रदेशमा ललितकलाको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा समसामयिक कलाका विविध पक्षबारे विचार र अनुभव आदानप्रदान गरेका थिए।
कार्यक्रमका प्रमुख आमन्त्रित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’ले गण्डकी प्रज्ञा–प्रतिष्ठानले ललितकलाको क्षेत्रमा आयोजना गरेको विमर्शलाई महत्वपूर्ण तथा ऐतिहासिक पहलका रूपमा व्याख्या गरे। उनले यस्ता कार्यक्रमले कलाकारबीच अनुभव आदानप्रदान, सिर्जनात्मक बहस र नयाँ प्रतिभाको पहिचानमा सहयोग पुग्ने बताए।
नयाँ पुस्तालाई ललितकलासँग जोड्नुपर्नेमा जोड दिँदै उनले कलाकारको सम्मान, सिर्जनाको प्रवर्द्धन र कलाकृतिको बजारीकरणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा राखे। गण्डकी प्रदेशलाई प्राकृतिक सौन्दर्यको गन्तव्यका रूपमा मात्र नभई कला, संस्कृति र सिर्जनाको विशिष्ट केन्द्रका रूपमा स्थापित गर्न प्रदेश सरकार, प्रज्ञा–प्रतिष्ठान र कलाकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
ललितकलाको दस्तावेजीकरणका लागि प्रतिष्ठानले गरेको प्रयासको प्रशंसा गर्दै बरालले यस्ता विमर्शलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले कला केवल हेर्ने वस्तु नभई अनुभूति गर्ने विषय भएको बताए। कला कलाकारको व्यक्तिगत अभिव्यक्ति मात्र नभई समाजको सामूहिक चेतनाको प्रतिविम्बसमेत भएको उल्लेख गर्दै उनले कलाकारले रङ र रेखामार्फत समाजको इतिहास लेख्ने, समयको आवाज बोल्ने र भविष्यको कल्पना गर्ने धारणा व्यक्त गरे।
प्रतिष्ठानले समाजका विभिन्न विधाका सिर्जनशील प्रतिभालाई एउटै संस्थागत अभियानमा जोडेर अगाडि बढ्न चाहेको बताउँदै न्यौपानेले ललितकलाको विकास र प्रवर्द्धनका लागि निकट भविष्यमै प्रादेशिक ललितकला प्रदर्शनी, ‘रङमा लोमान्थाङ’ कार्यक्रम र ‘कला अङ्कुर’ अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले ती अभियान सफल बनाउन कलाकार, कलाप्रेमी तथा सरोकारवाला सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शंकर विरही गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्याबसन कास्कीका अध्यक्ष षडानन्द गौतमले शुभकामना मन्तव्य राखेका थिए।
प्राज्ञ बाबुराम बस्ताकोटीले संयोजन तथा सञ्चालन गरेको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तिलकप्रसाद पुन सहित डी.बी. गुरुङ, बुद्धि गुरुङ, हरेराम जोजिजु, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, विश्वेश्वर पराजुली, क्षेत्रलाल कायस्थ, डा. निर्मल लामिछाने, यादवचन्द्र भुर्तेललगायत कला तथा साहित्य क्षेत्रका स्रष्टा, प्राज्ञ, बुद्धिजीवी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले गण्डकी प्रदेशमा ललितकलाको अवस्था, सम्भावना र चुनौती पहिचान गर्नुका साथै यसको संस्थागत विकास, संरक्षण, प्रवद्र्धन र नीतिगत सुधारका लागि नयाँ बहसको आधार तयार गरेको आयोजकको विश्वास छ ।
















