पोखरा । पोखरामा रहेर साहित्य सिर्जनामा सक्रिय नयाँ तथा पुराना लेखकलाई प्रोत्साहन गर्दै उनीहरूको लेखन यात्रालाई संस्थागत रूपमा सहयोग पुर्याउने उद्देश्यले पोखरा प्रज्ञा प्रतिष्ठानले ‘लेख्छ पोखरा’ अभियान सञ्चालनमा ल्याएको छ । अभियानको पहिलो चरणअन्तर्गत प्रतिष्ठानले आर्थिक वर्ष २०८३ का लागि पाण्डुलिपि आह्वान गरेको छ ।
अभियानमार्फत प्रत्येक वर्ष कम्तीमा तीन जना लेखकका उत्कृष्ट पाण्डुलिपि छनोट गरी पुस्तकका रूपमा प्रकाशन गरिनेछ । प्रकाशित पुस्तकको विमोचनका अवसरमा सम्बन्धित लेखकलाई पुरस्कारसमेत प्रदान गरिने पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाले जानकारी दिइन् ।
उनका अनुसार पोखरामा नयाँ तथा स्थापित दुवै पुस्ताका लेखकलाई सिर्जनात्मक यात्रामा साथ दिने र उनीहरूका कृतिलाई पाठकमाझ पुर्याउने उद्देश्यले अभियान सुरु गरिएको हो । चार वर्षसम्म सञ्चालन हुने अभियानबाट कम्तीमा १२ जना लेखकका कृति प्रकाशन गर्ने लक्ष्य प्रतिष्ठानले लिएको छ ।
अभियानअन्तर्गत पाण्डुलिपि बुझाउन विधागत सीमा तोकिएको छैन । काव्य, आख्यान, गैरआख्यान, दर्शन तथा अनुसन्धानलगायत जुनसुकै विधाका पाण्डुलिपि बुझाउन सकिनेछ । लेखक जुनसुकै स्थानको स्थायी बासिन्दा भए पनि हाल पोखरामा रहेर सिर्जनाकर्म गरिरहेको हुनुपर्नेछ । पाण्डुलिपि बुझाउन उमेरको समेत कुनै हदबन्दी राखिएको छैन ।

प्राप्त पाण्डुलिपिमध्ये तोकिएको छनोट समितिले उत्कृष्ट तीन कृति चयन गर्नेछ । छनोट भएका पाण्डुलिपिलाई पोखरा प्रज्ञा प्रतिष्ठानले पुस्तकका रूपमा प्रकाशन गर्ने र विमोचनको सम्पूर्ण जिम्मेवारीसमेत आफैँले लिनेछ । उत्कृष्ट कृति छनोट गर्ने अन्तिम अधिकार भने छनोट समितिमा रहने प्रतिष्ठानका सदस्य सचिव जीवन दाहालले जनाए ।
उनका अनुसार अभियानमा पहिलोपटक पुस्तक प्रकाशन गर्ने लेखकलाई ‘पोखरा प्रज्ञा नवोदित पुरस्कार’ र यसअघि पुस्तक प्रकाशन गरिसकेका लेखकलाई ‘पोखरा प्रज्ञा पुरस्कार’ प्रदान गरिनेछ । दुवै पुरस्कारको राशि जनही ३० हजार रुपैयाँ रहेको छ ।
प्रकाशित पुस्तकको ५० प्रतिशत प्रति प्रतिष्ठानले राख्नेछ भने बाँकी ५० प्रतिशत प्रति लेखकलाई लेखकस्वका रूपमा उपलब्ध गराइनेछ । पुस्तकको सर्वाधिकार भने सम्बन्धित लेखककै सुरक्षित रहने व्यवस्था गरिएको छ ।
पाण्डुलिपि बुझाउन इच्छुक लेखकले सूचना प्रकाशित भएको तीन महिनाभित्र अर्थात् २०८३ माघ १८ गतेसम्म प्रतिष्ठानमा पाण्डुलिपि बुझाइसक्नुपर्नेछ ।
‘लेख्छ पोखरा’ अभियानको दोस्रो चरणमा लेखनसम्बन्धी विभिन्न कार्यशालासमेत आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । कार्यशालामार्फत लेखकको लेखन क्षमता अभिवृद्धि, सिर्जनात्मक सीप विकास र साहित्यिक अभ्यासलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय साहित्य, सिर्जना र लेखकको पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको यस अभियानले पोखराको साहित्यिक गतिविधिलाई नयाँ ऊर्जा दिनुका साथै नवोदित लेखकलाई आफ्नो सिर्जना पुस्तकका रूपमा पाठकमाझ पुर्याउने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको सदस्य सचिव दाहालले बताए । पाण्डुलिपि आह्वान सम्बन्धि सूचना सार्वजनिक भएपछि यो अभियानलाई धेरैले सकारात्मक भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।
















