पोखरा । जेएम ईभी थ्री गाडी पोखराबाट सार्वजनिक गरिएको छ । सोमबार टीटी ईभी रिभोलुसन र सीजी मोटर्सले संयुक्त रूपमा विशेष कार्यक्रम आयोजना गरी उक्त गाडी सार्वजनिक गरेका हुन् ।
गाडीको सार्वजनिक सीजी मोटर्सका जनरल असिस्टेन्ट म्यानेजर कञ्चन सिलवाल, कम्पनीका कन्ट्री हेड स्काई जेन, टीटी ईभी रिभोलुसनका निर्देशक सीए प्रमेश पराजुली तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ट्याक्सी वर्गीय संयोजक प्रकाशमणि तिवारीलगायतले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा बोल्दै सीजी मोटर्सका जनरल असिस्टेन्ट म्यानेजर कञ्चन सिलवालले जेएम ईभी थ्री नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर उपयुक्त हुने विश्वास व्यक्त गरे । उनका अनुसार गाडीको वास्तविक रेञ्ज परीक्षण गर्न पोखराभित्र मात्र नभई पोखराबाट बागलुङ र दमौलीसम्म पनि परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा गाडी नेपालको सडकमा चलाउन उपयुक्त पाइएको उनको दाबी छ । उनले ईभी थ्रीमार्फत नेपाली ग्राहकलाई सेवा तथा सुविधा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताउँदै यसै वर्ष नेपालका मुख्य सहरहरूमा सर्भिस सेन्टर स्थापना गर्ने लक्ष्यसहित कम्पनी अगाडि बढिरहेको जानकारी दिए ।
त्यस्तै, टीटी ईभी रिभोलुसनका निर्देशक प्रमेश पराजुलीले गाडी सार्वजनिक भएको पहिलो दिन नै बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिएको बताए । उनले गाडीको बुकिङ उत्साहजनक रूपमा भइरहेको जानकारी दिँदै ग्राहकको सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ट्याक्सी वर्गीय संयोजक प्रकाशमणि तिवारीले विद्युतीय गाडीले ट्याक्सी व्यवसायमा सञ्चालन खर्च घटाउन सहयोग पुग्ने बताए । उनले पेट्रोलबाट चल्ने गाडीमा एसी प्रयोग गर्दा पनि खर्चको हिसाब गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै विद्युतीय गाडीमा भने ढुक्कसँग एसी चलाउन सकिने बताए । कार्यक्रमका पहिलो ग्राहकसमेत रहेका तिवारीले उक्त गाडी बुकिङ गरेका छन् ।
उनका अनुसार ५० हजार किलोमिटर पेट्रोल गाडी चलाउँदा इन्धनमा करिब ६ लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको छ । तर, विद्युतीय गाडीमा सोही दूरी पार गर्दा करिब ६० हजार रुपैयाँ मात्रै खर्च हुने उनको दाबी छ । यसरी बचत हुने रकममध्ये ५० प्रतिशत ब्याट्रीको दीर्घकालीन व्यवस्थापनका लागि छुट्याउनसमेत उनले सुझाव दिए ।
जेएम ईभी थ्रीको बजार मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । गाडी सार्वजनिक भएसँगै पोखरामा विद्युतीय सवारीसाधनको बजार विस्तार र ट्याक्सी व्यवसायीमा यसको सम्भावनाबारे समेत चासो बढ्ने अपेक्षा गरिएको छ ।
















