पोखरा । पोखरामा नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेशस्तरीय पुष्प मेला एवं तेस्रो सयपत्री फूल मेला आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा यहिं कार्तिक १८ देखि २३ गतेसम्म पोखरा रंगशालामा मेला सञ्चालन हुन लागेको हो ।

मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा फ्यान कास्कीका अध्यक्ष एवं मेला संयोजक रामप्रसाद सुवेदीले मेलाको तयारी करिब ९० प्रतिशत पूरा भएको जानकारी दिए । उनका अनुसार कार्तिक १८ गते बुधबार बिहान ११ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलाले पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा फूलप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्य राखेको अध्यक्ष सुवेदीले बताए ।

उनका अनुसार फ्यान कास्कीमा कट फ्लावर र नर्सरी क्षेत्रका गरी ४८ जना व्यवसायी आबद्ध छन् । कास्कीका अतिरिक्त स्याङ्जा, तनहुँ र बागलुङका व्यवसायीसमेत यस क्षेत्रमा संलग्न छन् । संस्थामा आबद्ध नभई स्वतन्त्र रूपमा पुष्प व्यवसाय गर्दै आएका व्यवसायीको संख्या पनि उल्लेख्य रहेको उनले बताए ।

विशेषगरी तिहारको समयमा सयपत्री र मखमली फूलको माला तथा घरआँगन सजावटका लागि गोदावरी फूलको माग बढी हुने गरेको अध्यक्ष सुवेदीले बताए । पोखराको बजार मागलाई धान्ने गरी स्थानीयस्तरमै फूल उत्पादन भइरहेको उनको दाबी छ । फूलको प्रकृति, गुणस्तर र आकारअनुसार मूल्य निर्धारण गरिने उनले स्पष्ट पारे ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाले पोखरामा तिहारका लागि आवश्यक पर्ने फूलको करिब ७० प्रतिशत उत्पादन फ्यानमा आबद्ध व्यवसायी तथा अन्य उत्पादकको सहकार्यमा स्थानीयस्तरमै भइरहेको जानकारी दिए । फूल उत्पादनप्रति व्यावसायिक आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा गैरव्यावसायिक रूपमा पनि तिहार लक्षित फूल खेती हुने गरेको बताए ।

फ्यान कास्कीका पूर्वअध्यक्ष तथा सल्लाहकार दयाकुमार द्वाले विश्वभर गोदावरी फूलका करिब २ सय २५ प्रजाति पाइने जानकारी दिँदै यसको उत्पादनमा लाग्ने मेहनत, समय र फूलको प्रकृतिका आधारमा मूल्य निर्धारण हुने बताए ।

आयोजकका अनुसार प्रदर्शनीमा व्यावसायिक प्रयोजनका २२ वटा, कृषि सामग्रीका तीनवटा र सूचनामूलक एउटा गरी कुल २६ वटा प्रदर्शनी कक्ष रहनेछन् । मेलामा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका विभिन्न जातका गोदावरी फूलका बिरुवासँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिका फूलसमेत प्रदर्शन गरिनेछ ।

त्यसैगरी यस सिजनमा फुल्ने सयपत्री, मखमली, मालालगायतका मौसमी फूल तथा अन्य सजावटी फूलका बिरुवाहरू पनि प्रदर्शनीमा राखिनेछन् । पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घरआँगन तथा बगैँचा सजाउन रुचि राख्ने र फूल खेतीसम्बन्धी ज्ञान हासिल गर्न चाहने सर्वसाधारणका लागि प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ ।

प्रदर्शनीमा पुष्प व्यवसायको व्यावसायिक उत्पादन, प्रविधि, बजार तथा यस क्षेत्रमा भएका गतिविधिबारे जानकारीसमेत प्रदान गरिनेछ । मेलामा करिब २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको फ्यान कास्कीका सचिव खिमलाल सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0