पोखरा। सूर्यतारा क्लब पोखराको आयोजनामा चौथो सूर्यतारा खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८३ आगामी मंसिर १९ देखि २१ गतेसम्म पोखरा महानगरपालिका–२७ मा आयोजना हुने भएको छ।

‘सामाजिक परिवर्तनका लागि समृद्ध समाज हाम्रो परिकल्पना’ भन्ने मूल नारासहित स्थापित क्लबले खेलकुद, कला, संस्कृति र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो।

क्लबका अध्यक्ष विष्णु पुनका अनुसार तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा खुला फुटसल प्रतियोगिता, विभिन्न जातीय तथा सांस्कृतिक संघसंस्थाका झाँकी प्रदर्शन, भजन प्रतियोगिता, स्लो स्कुटर रेस र डोरीतान प्रतियोगितालगायतका कार्यक्रम समावेश गरिनेछन्।
महोत्सवले विभिन्न जातजाति, समुदाय तथा संघसंस्थालाई एउटै साझा मञ्चमा जोड्दै आपसी भाइचारा, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने लक्ष्य लिएको अध्यक्ष पुनले बताए।

क्लबकी सचिव सरस्वती श्रेष्ठले महोत्सवमार्फत स्थानीय प्रतिभाको पहिचान तथा प्रोत्साहन गर्नुका साथै खेलकुदको विकास, मौलिक कला तथा संस्कृतिको संरक्षण र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

संस्था दर्ता ऐन, २०३४ बमोजिम विधिवत् दर्ता भएको सूर्यतारा क्लबको कार्यालय पोखरा महानगरपालिका–२९ मा रहेको छ। क्लबले स्थापनाकालदेखि नै खेलकुद, सामाजिक सेवा, युवा सशक्तीकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

खेलकुदमार्फत स्वस्थ, अनुशासित र सक्षम युवा उत्पादन गर्ने, सामाजिक सद्भाव र एकता कायम गर्ने तथा स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने क्लबका प्रमुख उद्देश्य रहेका छन्।

क्लबका कोषाध्यक्ष विष्णुहरि भगाईले महोत्सवलाई सफल बनाउन स्थानीय संघसंस्था, युवा क्लब, जातीय संघसंस्था, व्यवसायी, खेलप्रेमी तथा आम सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

खेलकुद, संस्कृति र सामाजिक एकतालाई एउटै उत्सवमा जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवले पोखराको पहिचान थप प्रवर्द्धन गर्नुका साथै स्थानीय पर्यटन र आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने विश्वास आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0