पोखरा । पोखरामा आयोजित ‘सुपर भ्वाइस अफ त्रिवेणी किड्स’को चौथो संस्करणमा २० जना बालप्रतिभा फाइनलमा प्रवेश गरेका छन् । शनिबार गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभागृहमा सम्पन्न सेमिफाइनल प्रतिस्पर्धाबाट उनीहरू फाइनलका लागि छनोट भएका हुन् ।

३० जना प्रतियोगीबीच भएको प्रतिस्पर्धाबाट २० जना छनोट भएको कार्यक्रम संयोजक सुनिल बरालले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कुलपति न्यौपानेले त्रिवेणी सङ्गीतालयले बालप्रतिभाको पहिचान र प्रोत्साहनका लागि गरेको प्रयासको प्रशंसा गरे । लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान दिँदै राष्ट्रिय प्रतिभा उत्पादन गर्दै आएको सङ्गीतालयमा आफूले समेत केही समय सङ्गीत सिकेको स्मरण गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । प्रतियोगितामा लोकगीत र राष्ट्रिय गीतलाई प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे ।

प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने प्रतियोगीमा आहाना गुरुङ, आरोहा अधिकारी, आयान गहतराज, आविष्कार पुन, अङ्कित छन्त्याल, अन्शु भुजेल, अन्वेषा घिमिरे, अपार गुरुङ, विद्या तामाङ र दिया थापा मगर रहेका छन् ।

त्यसैगरी दीपशिखा थापा, दृष्टान्त सापकोटा, इभा बाँस्तोला, ओभिया गुरुङ, प्राप्ति पौडेल, प्रशंसा ढुङ्गाना, प्रतिष्ठा कँडेल, रहाना पहारी, रिहान सुनार र सिजल श्रेष्ठ पनि फाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा करण तामाङ, किशोर सुनार र सानु जोजिजु निर्णायकका रूपमा रहेका थिए भने सर्वज्ञमान शाक्य अतिथि निर्णायक थिए ।

त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक नवराज बरालका अनुसार प्रतियोगिताको प्रारम्भिक चरणमा करिब २५० जना सहभागी भएका थिए । तीमध्ये १८० जना छनोट गरी क्रमशः १०२, ६० र ४२ जनासम्म प्रतिस्पर्धीको सङ्ख्या घटाइएको थियो । अन्ततः ३० जनाले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

प्रतियोगिताको फाइनलबाट उत्कृष्ट १० जना बालप्रतिभाले पुरस्कार प्राप्त गर्नेछन् । विभिन्न जिल्लाका विद्यालयबाट बालप्रतिभाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । फाइनल प्रतिस्पर्धामा निर्णायकको मूल्याङ्कनलाई ८० प्रतिशत र भोटिङलाई २० प्रतिशत अङ्कभार दिइनेछ । आगामी मंसिर दोस्रो साताभित्र फाइनल आयोजना गर्ने तयारी रहेको कार्यक्रम संयोजक बरालले जानकारी दिए ।

‘सुपर भ्वाइस अफ त्रिवेणी किड्स’ त्रिवेणी सङ्गीत पुरस्कार अक्षयकोषको सहयोगार्थ आयोजना गरिएको हो । नयाँ पुस्तामा सङ्गीतप्रतिको रुचि अभिवृद्धि गर्दै बालप्रतिभाको पहिचान, विकास र प्रोत्साहनमार्फत नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । सेमी फाइनल कार्यक्रम सञ्चालन राजन बराल र विनोद राइले  गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0