लेखनाथ । छैटौँ लेखनाथ कप एवम् ११ औं क्योकुसिन कान फुलकन्ट्याक कराँते तथा मुवाथाई जिल्लास्तरीय प्रतियोगिता शनिबारदेखि लेखनाथमा सुरु भएको छ ।
प्रतियोगितामा २५ देखि ५५ केजी तौल समूहका २०० खेलाडीको सहभागिता रहेको छ ।नेपाल क्योकुसिन कान कराँते लेखनाथका डोजो प्रमुख सुवास खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले स्वास्थ्यका लागि खेलकुद निकै महत्वपूर्ण रहनेमा जोड दिए। पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले अध्ययन सँगै खेलकुदलाई पनि अगाडि बढाउन प्रतियोगीहरूलाई प्रेरित गरे ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले सञ्चालन गरेको प्रतियोगितामा लेखनाथ यद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुली, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, नेपाल क्योकुसिन कान कराँते कास्कीका ब्रान्च चिफ लक्ष्मण कुँवर लगायतले शुभकामना व्यक्त गरेका थिए ।
पुरुष र महिलाका छुट्टाछुट्टै समूहमा प्रतियोगितात्मक खेल हुने र विजयी खेलाडीले नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक बिनोद नेगीले जानकारी दिए ।
दुई दिवसीय रुपमा आयोजित प्रतियोगितामा निर्णायकहरू अर्जुन बराम, मोसेस कुमाल, अनिल बराम लगायत रहेका छन् भने जुरी निर्णायकमा धनबहादुर तामाङ र ओमराज पुन रहेका छन् ।















