पोखरा । सहारा क्लब पोखरा २५ औं आहा रारा पोखरा गोल्ड कपमा आइतबार आइतबार  जावलाखेल युथ क्लब र चर्च ब्वाइजबीच दोस्रो क्वाटर फाइनल खेल हुने भएको छ । आयोजक सहारा क्लबका अनुसार यो खेल दिउँसो ठिक ३ बजे पोखरा रङ्गशालामा सुरु हुनेछ ।  यसअगाडि शनिबार भएको पहिलो क्वाटर फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई सडन डेथमा हराउँदै आयोजक सहारा क्लब अन्तिम चारमा पुगेको छ ।

पुलिसका धिरेन्द्र शाहको पेनाल्टीलाई सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि पुलिसको यात्रा पहिलो खेलबाट नै सकिएको हो । सहारा उद्‌घाटन खेलमा पाहुना टोली गोर्खा इन्टरनेसनल फुटबल क्लबलाई १–० गोलले पराजित गरी क्वार्टर फाइनल पुगेका थियो । सीधै बाइ पाएर अन्तिम ४ का लागि भिडेको पुलिस सडन डेथमा ६–५ गोल अन्तरले पराजित भएको हो ।

निर्धारित र अतिरिक्त समय दुवै टोलीले एक/एक गोलको बराबरीमा टुंग्याएका थिए । पेनाल्टी सुट आउटमा समेत बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । पेनाल्टी सुट आउटमा पुलिसका कप्तान राम वाजीको प्रहार रोक्दै अघि बढेको सहाराले पाचौँ पेनाल्टीमा टिकेन्द्र गोल गर्न चुकेपछि खेल सडन डेथमा पुगेको हो ।

सहाराका लागि बिक्की चाम्लिङ राई, विनय तामाङ, शिसस थापा, भागवत चौधरी, प्रशन्न श्रेष्ठ र विदेशी खेलाडी टाए डिनियल बडारुले पेनाल्टीमा गोल गरे । पुलिसका लागि निरज खड्का, दशरथ गिरी, जोन विष्ट, अमित टमाटा र सञ्जिव लामाले गोल गरेका थिए । कप्तान राम वजीधिरेन्द्र शाहको प्रहार खेलका म्यान अफ दी म्याच सहाराका गोलरक्षक टिकेन्द्र थापाले रोकेपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि निर्धारित समयमा दुवै टिमले समान १ गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टिमले गोल गरेका हुन् । पहिलो हाफमा नेपाल पुलिस क्लबले केही राम्रा अवसर गुमाउँदा अग्रताबाट अग्रता लिन सकेको थिएन । 

दोस्रो हाफको सुरुआती समयमा नै नेपाल पुलिस क्लबले अग्रता बनाएको थियो । ४९ औं मिनेटमा कप्तान राम वाजीले गोल गरेका थिए । तर ६१ औं मिनेटमा सहाराले पेनाल्टी प्रहारको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्यायो । सहारा एकेडेमीका उत्पादन मुकुन्दकुमार निउरेले गोल गरेका हुन् ।

खेलपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले पाएको अवसरमा सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनुपरेको बताए । आफ्ना केही महत्वपूर्ण खेलाडी अर्को प्रतियोगिता खेलिरहेका कारण पनि समस्या भएको उनको भनाइ छ ।

सहाराका प्रशिक्षक सुनील रानमगरले खेलाडीको कडा मेहनतका कारण जित सम्भव भएको बताए । गोलरक्षक टिकेन्द्रको उत्कृष्ट प्रदर्शनका कारण पुलिसका एकपछि अर्को प्रहार रोकिँदा खेल टाइब्रेकरमा पुगेका उनको प्रतिक्रिया छ । पेनाल्टीमा पनि गोलरक्षकले २ वटा पेनाल्टी रोकेर सेमिफाइनल पुगेको उनले सुनाए । यद्यपि अन्य खेलाडीले पनि उत्तिकै मेहनत गरेका उनको भनाइ छ ।

फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछ ।

अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0