पोखरा । प्रसिद्ध जापानी ब्रान्ड पाइलट पेनले पोखरामा पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ। पाइलट पेनलाई नेपालमा फेयर ट्रेड कर्पोरेसनले आधिकारिक रूपमा बिक्री गर्दै आएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३, नदीपुरस्थित कोट्रयार्ड भवन मीनमार्ट रहेको भवनमा सञ्चालनमा आएको नयाँ आउटलेटको कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावाना र कमेडियन सन्दिप क्षेत्रीले उद्घाटन गरेका हुन् । नयाँ आउटलेटमा १० रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका पेनहरू राखिएका छन् ।
स्टोर उद्घाटनपछि बोल्दै क्षेत्रीले पाइलट पेनसँग आफ्नो बाल्यकालको स्मृतिहरू पनि जोडिएको बताए । मनमा आएका भावनाहरू कोर्नका लागि कलमले पनि प्रभाव पार्ने बताउँदै उनले पाइलटका पेन एवं बोर्ड मार्करहरू लेख्न सहज र सजिलो हुने बताए । लेख्न मन पराउने व्यक्तिहरूका लागि कलमको विशेष महत्व हुने उनको भनाई छ ।

फेयर ट्रेडकी मीन अग्रवालले पोखरामा माग बढेपछि आउटलेट खोलिएको बताइन् । यसअघि काठमाडौँको कमलादी र न्युरोडमा पनि आउटलेटहरू खुलिसकेका छन् । बजारमा नक्कली पाइलट पेनको बिगबिगी बढेकाले चेतना फैलाउनका लागि पनि स्टोर बढाउने नीति रहेको बताउँदै उनले अब पोखरा लेकसाइड, ललितपुर र विराटनगरमा पनि स्टोर खोल्ने योजना रहेको सुनाइन् ।
पाइलटले उद्घाटनको अवसरमा १० प्रतिशत छुटको व्यवस्था समेत गरिएको थियो। विद्यार्थीहरूका लागि आइतबारदेखि ५ प्रतिशत छुटको व्यवस्था गरिने जनाईएको छ । पाइलटको पाइलट पेन, मसी तथा बोर्ड मार्करहरू प्रसिद्ध छन्। स्टोरमा भएका १७० भन्दा बढि प्रकारका कलमहरू विशेष गरी बलपेन, जेलपेन र फाउन्टेन पेन हुन् । कम्पनीले ४२ वर्ष पहिलेदेखि नेपालमा पाइलट पेनको बिक्री वितरण गर्दै आएको जनाएकाे छ।

















