पोखरा । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेस सरकारमा गएपछि जनताका एजेन्डाहरूलाई बढिभन्दा बढि उठान गरेर लागू गर्ने गरेको बताएका छन् । सोमबार पोखरामा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

शहरी विकास मन्त्री रहेका उनले सबैलाई चित्त बुझाएर सबैको एजेन्डाहरू समेटेर लैजानुपर्ने भएकाले सरकारले केवल एमाले र काँग्रेसले चाहेको कुरामात्र गर्न नमिल्ने बताए । जे जस्तो अवस्था भएपनि सरकारमा गएपछि धेरै भन्दा धरै  जनताका एजेन्डालाई उठान गरेर लागू गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाली काङ्ग्रेसभित्र पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिए । राजनीति भनेको सेवा लिनका लागि होइन सेवा भाव राखेर अघि बढ्नुपर्ने उनको भनाई थियो । नेपाली कांग्रेसको अधिवेशन नजिकिँदै गरेको सन्दर्भमा बोल्दै सिंहले काल्पनिक र आकर्षक कुरा गरेर मात्र नहुने भएकाले राजनीति बुझेको र दक्ष व्यक्तिलाई मात्र नेतृत्वमा पठाउनुपर्ने बताए ।  

नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रमा जनताको सहभागिता नै सबथोक हुने बताए । पार्टीको विरासत फर्काइनुपर्ने समय आएको बताउँदै उनले जनतालाई साथमा लिएर नेपाली काँग्रेस अगाडि बढ्नुपर्ने बताए । 

नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको सभाकक्ष पोखरा ३ तेर्सापट्टीमा भएको कार्यक्रममा नेपाली काँग्रेस गण्डकीका ११ वटै जिल्लाबाट कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0