पोखरा । पोखरामा स्वरुप परिवर्तन गरिएका १ सय ४९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा ती सवारी साधन नियन्त्रणमा लिइएको आइतबार पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ ।
विगत लामो समयदेखि स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनि प्रदुषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आइरहेकोमा गत श्रावण ३० गते देखि भदौ २ गतेसम्ममा १ सय ४९ थान मोटरसाइकल नियन्त्रणमा लिई कारवाही प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए । नियन्त्रणमा लिएका सवारी साधनमा पहिलो पटके देखि चौथो पटकसम्मका छन् । यसबाट करिव बाइस लाख रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको छ ।
कास्की प्रहरीले यस अगाडि गत असोज २१ गते देखि अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरी स्वरूप परिवर्तन गरिएका २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरेको थियो । त्यसैगरी गत फागुन १७ गते देखि २० गतेसम्म पुनः त्यस्ता ५९ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको थियो । त्यतिबेला पटके कारबाहीमा परेकाहरूलाई यातायात व्यवस्था कार्यालयमा समेत पठाइएको कास्की प्रहरीको भनाइ छ।
स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसप सहचालकहरूलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामूलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको थियो । यसरी अभियान सञ्चालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने, ध्वनि प्रदुषण गर्ने जम्मा दुई हजार ३५ थान मोटरसाइकललाई कारवाही गरी २९ लाख ८ सय जरिवाना गरी सकिएको सूचना अधिकारी शर्माले जनाए ।
स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रङ्ग, स्वरुप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदुषण हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । यस कार्यमा संलग्न सवारी धनी र वर्कसप सहचालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सार्वजनिक शान्ति भङ्ग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने गरिन्छ ।
स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, ध्वनि प्रदुषण, बिरामी, वृद्धवृद्धा, बालबालिका तथा संवेदनशील क्षेत्र अस्पताल स्कुल लगायतमा प्रत्यक्ष असर पर्ने हुन्छ । कास्की प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण गरी मोटरसाइकल चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध समेत गरेको छ ।