पोखरा । गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत कास्कीमा रहेका तीन कार्यालयको आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीको उपस्थितिमा प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि विकास कार्यालय कास्की तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका वार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो।

कार्यक्रममा कार्यालयहरूले चालु आर्थिक वर्षमा कृषि उत्पादन वृद्धि, माटो परीक्षण, बाली विकास, पशु स्वास्थ्य, पशुपालन प्रवर्द्धन तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गर्ने कार्यक्रमबारे जानकारी गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले कास्कीको जनसंख्यालाई आधार बनाएर मात्रै कृषि उत्पादन पर्याप्त भएको ठान्न नहुने बताए। कास्कीमा स्थायी बासिन्दासँगै बाहिरी जिल्लाबाट आउने मानिसको संख्या पनि उल्लेख्य रहेको भन्दै उनीहरूको आवश्यकता र मागलाई समेत ध्यानमा राखेर कृषि उत्पादन तथा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।

“कास्कीको जनसंख्या हेरेर उत्पादन पुगेको छ भनेर सुख मान्ने अवस्था छैन। यहाँ आउने मानिसको संख्या पनि ठूलो छ। सबैलाई व्यवस्थापन गर्न सक्ने गरी उत्पादन र आपूर्ति प्रणाली विकास गर्नुपर्छ,” मन्त्री कार्कीले भने।

कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले संघीय तथा स्थानीय सरकारसँग समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उनले बताए। कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग समेत आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने मन्त्री कार्कीको भनाइ थियो।

उनले कृषि पेशालाई सम्मानित र मर्यादित बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए। कृषि पेशालाई जीविकोपार्जनको माध्यम मात्र नभई आकर्षक र सम्मानित व्यवसायका रूपमा स्थापित गर्न आवश्यक रहेको उनको भनाइ थियो।

कार्कीले कार्यालय प्रमुखहरूले कार्यक्रममा उठाएका विषय र समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कृषि क्षेत्र सुधारका लागि पर्याप्त कार्यक्रम सञ्चालनमा रहेको बताए। विगतको तुलनामा केही क्षेत्रमा सुधार देखिएको र त्यसलाई तथ्यांकले समेत पुष्टि गर्ने उनले दाबी गरे। आगामी दिनमा उपलब्ध स्रोत र साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै कृषि क्षेत्रलाई थप उत्पादनमुखी बनाउने उनको भनाइ थियो।

कार्यक्रममा प्रदेश कृषि प्रयोगशाला पोखराका वरिष्ठ माटो विज्ञ सुनिल पाण्डेले प्रयोगशालामार्फत सञ्चालन हुने कार्यक्रम र माटो परीक्षण तथा कृषि उत्पादनसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए। उनले माटोको अवस्था पहिचान गरी उपयुक्त बाली तथा उत्पादन प्रणाली अपनाउन माटो परीक्षणको भूमिका महत्वपूर्ण रहेको बताए।

त्यसैगरी कृषि विकास कार्यालय कास्कीका वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले कार्यालयले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गर्ने बाली विकास तथा कृषि प्रवर्द्धनसम्बन्धी कार्यक्रम प्रस्तुत गरे। कृषकको उत्पादन क्षमता वृद्धि, प्रविधिको प्रयोग तथा कृषि व्यवसायलाई थप व्यवस्थित बनाउने विषयलाई कार्यक्रमले प्राथमिकता दिएको जानकारी उनले दिए।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म न्यौपानेले पशु स्वास्थ्य, पशुपालन तथा पशु सेवा क्षेत्रसँग सम्बन्धित वार्षिक कार्यक्रम प्रस्तुत गरे। पशुपालक कृषकलाई आवश्यक प्राविधिक सेवा उपलब्ध गराउने, पशु स्वास्थ्य संरक्षण गर्ने तथा पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने विषयमा कार्यालयले कार्यक्रम केन्द्रित गरेको उनले बताए।

कार्यक्रममा मन्त्रालयका वरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले वार्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यालयहरूबीच समन्वय आवश्यक रहेको बताए। कार्यक्रम कार्यान्वयनका क्रममा देखिने कमीकमजोरी पहिचान गरी सुधार गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरे।

वार्षिक कार्यक्रम सार्वजनिक गर्दै प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, कृषकको आयआर्जनमा सुधार तथा कृषि पेशाप्रति आकर्षण बढाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ। कार्यालयगत रूपमा तय भएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै त्यसको नियमित अनुगमन र मूल्यांकनमा समेत जोड दिइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0