पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ महिनाभरि सम्पादित विविध कार्य तथा शान्ति–सुरक्षाको प्रगति विवरण सार्वजनिक गरेको छ। कास्की प्रहरीद्वारा जारी असोज २ गतेको प्रेस विज्ञप्तिअनुसार अपराध अनुसन्धान, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण र सडक सुरक्षाका क्षेत्रमा उल्लेख्य सफलता हासिल भएको छ।
भदौ महिनामा जिल्लाभित्र जघन्य तथा गम्भीर २०, महिलारबालबालिका सम्बन्धी ९, आर्थिक अपराध १७ र अन्य १ सय १८ गरी कुल १ सय ६४ वटा मुद्दा दर्ता भएका छन्।
यी मुद्दाहरूमा संलग्न १ सय १५ जना प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। फैसला कार्यान्वयनतर्फ वर्षौंदेखि फरार रहेका ५६ जना प्रतिवादी ४० पुरुष र १६ महिला लाई पक्राउ गरिएको छ। यसबाट ११ वर्ष ३ महिना २७ दिन कैद भुक्तान गराउनुका साथै रु. २२ लाख ८९ हजार १ सय ७५ बिगो रकम असुल गरिएको कास्की प्रहरीले जनाएको छ।
लागूऔषध ओसारपसार र बिक्रीवितरण नियन्त्रणका क्रममा १० वटा मुद्दा दर्ता गरी १४ जना पुरुषलाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको साथबाट १५ ग्राम ९२ मिलिग्राम ब्राउनसुगर, ११ हजार ७ सय ६८ चक्की ट्यापेंटाडोल, १ हजार ५ सय एम्पुल डाइजापाम, फेनेरागन र नुर्फिन र १ सय ८६ बोतल ओनिरेक्स लगायत ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ।
भदौ महिनामा २९ वटा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। सवारी नियम उल्लङ्घन गर्ने ६ हजार ४० वटा सवारी साधनलाई कारबाही गरी रु. ४८ लाख ४ हजार राजश्व सङ्कलन गरिएको छ। तीव्र गति र मादक पदार्थ सेवन मापसे दुर्घटनाका मुख्य कारण रहेको तथ्याङ्कले देखाएको छ।
सामाजिक हिंसातर्फ ५३ वटा ठाडो उजुरी परेकामा १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरू बढी पीडित तथा पीडक रहेको पाइएको छ। घरेलु हिंसाका १८ वटा निवेदन प्राप्त भएकोमा ६ वटा मिलापत्र गराइएको छ।
समुदाय प्रहरी साझेदारी र आन्तरिक सुधारकास्की प्रहरीले समुदाय र विद्यालय स्तरमा साइबर अपराध, लागूऔषध, आत्महत्या रोकथाम र सडक सुरक्षा जस्ता विषयमा १ सय ४१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५ हजार ६ सय ५० भन्दा बढी नागरिकलाई प्रत्यक्ष अभिमुखीकरण गराएको छ।
प्रहरी संगठनको आन्तरिक व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ। कार्यालय हाताभित्र प्रहरी कर्मचारीहरूका लागि सुविधासम्पन्न सैलुन तथा होजियरी सञ्चालनमा ल्याइनुका साथै तीजको अवसरमा महिला प्रहरीलाई दर खुवाउने र सामूहिक खाजा कार्यक्रम आयोजना गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए।















