पोखरा ।  १४ महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेको गण्डकी प्रज्ञा–प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक सुरेन्द्रराज पाण्डेले मङ्गलबार प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य–सचिव तथा प्राज्ञसभा सदस्यहरू नियुक्त गर्दै प्रतिष्ठानलाई पूर्णता दिएका हुन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा गरिएको नियुक्तिअनुसार प्रतिष्ठानको कुलपतिमा त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक तथा लोकसाहित्यका प्रतिष्ठित अनुसन्धाता प्रा.डा. कुशुमाकर न्यौपाने नियुक्त भएका छन् । उपकुलपतिमा चर्चित लोकगायक तथा स्रष्टा शङ्कर विरही गुरुङ नियुक्त भएका छन् भने सदस्य–सचिवमा मनकुमार श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ यसअघि पनि प्रतिष्ठानको सदस्य–सचिवको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।

यसअघि २०८२ वैशाख १५ गतेदेखि प्रतिष्ठानको नेतृत्व रिक्त रहँदा नीति निर्माण, योजना तर्जुमा तथा विभिन्न प्राज्ञिक गतिविधिहरू प्रभावित हुँदै आएका थिए । नयाँ नेतृत्व नियुक्त भएसँगै प्रतिष्ठानले आफ्नो नियमित कामलाई गति दिने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री पाण्डेले भाषा, साहित्य, कला, संस्कृति, संगीत, लोकसाहित्य, लोकसंस्कृति, चित्रकला, मूर्तिकला, चलचित्र तथा अभिनयलगायत विविध क्षेत्रका स्रष्टा र व्यक्तित्वलाई समेटेर कुल २४ सदस्यीय प्राज्ञसभा गठन गरेका हुन् ।

प्राज्ञसभा सदस्यहरूमा कास्कीका अनुराग अधिकारी, पर्वतका इन्द्रमान खत्री, नवलपुरका ईश्वरीप्रसाद भुसाल, तनहुँका प्रा.डा. ईश्वरचन्द्र वाग्ले, स्याङ्जाका कमल पौडेल अथक, पर्वतका कृष्णकुमार गुरुङ, कास्कीकी गायत्री पराजुली, कास्कीका चोलेन्द्र पौडेल, तनहुँकी टुकादेवी पौडेल आचार्य, कास्कीकी पवित्रा घिमिरे, कास्कीका बाबुराम बस्ताकोटी, कास्कीकी बालकाशी गुरुङ, म्याग्दीका भूपेन्द्र बाँनियाँ, कास्कीका रामभक्त जोजिजू, कास्कीका रामजीप्रसाद पौडेल, लमजुङका वसन्त अधिकारी, गोरखाका डा. वीरेन्द्र पुडासैनी, तनहुँकी शान्ता बास्तोला, पर्वतकी शान्ति भुसाल, नवलपुरका सन्जु महतो थनेत र कास्कीकी हरिमाया श्रेष्ठ रहेका छन् । साथै नियुक्ति सूचीमा पर्वतका प्रा.डा. कुसुमकुमार न्यौपाने, तनहुँका मनकुमार श्रेष्ठ र स्याङ्जाका शङ्कर विरही गुरुङ पनि प्राज्ञसभा सदस्यका रूपमा समावेश छ ।

नवनियुक्त कुलपति प्रा.डा. न्यौपानेले प्रतिष्ठानलाई देशकै उदाहरणीय प्राज्ञिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, अनुसन्धान तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिवद्धता छ ।

उपकुलपति शङ्कर विरही गुरुङले प्रदेशको आवश्यकता र समयको मागअनुसारका सिर्जनात्मक तथा अनुसन्धानमुखी कार्यक्रम सञ्चालन गरिने बताए । प्रतिष्ठानलाई सबै स्रष्टा, कलाकार र संस्कृतिकर्मीको साझा संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

सदस्य–सचिव मनकुमार श्रेष्ठले अघिल्लो कार्यकालको अनुभवलाई उपयोग गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए । प्रतिष्ठानको संस्थागत क्षमता अभिवृद्धि गर्दै प्रदेशभरका स्रष्टालाई समेट्ने कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे ।

गण्डकी प्रदेश सरकारद्वारा गरिएको यो नियुक्तिसँगै लामो समयदेखि नेतृत्वविहीन बनेको प्रतिष्ठानले नयाँ गति लिने विश्वास गरिएको छ। भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, अनुसन्धान, प्रकाशन, प्रतिभाको सम्मान तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना विस्तार गर्ने कार्यमा प्रतिष्ठानले अब थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0