पोखरा । पोखरा महानगरपालिका–११, फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा शुभकामना कार्यक्रम गरिएको छ ।
बुधबार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण बास्तोलाले विद्यार्थीलाई नियमित पठनपाठनमा ध्यान दिन आग्रह गर्दै उनीहरूको चौतर्फी विकासका लागि विद्यालयले आवश्यक वातावरण प्रदान गर्ने बताए । उनले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई समेत विद्यालयले उत्तिकै महत्व दिँदै आएको स्पष्ट पारे ।
शिक्षक प्रतिनिधि रजनी भुजेलले विद्यालयले विद्यार्थीलाई सुरक्षित र सम्मानित महसुस हुने वातावरण निर्माण गर्दै आएको बताइन् । उनले विद्यार्थीको शैक्षिक यात्रालाई सहज र उपलब्धिमूलक बनाउन विद्यालय परिवार सदैव प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई मायाको चिनो प्रदान गरी स्वागत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा कविता प्रस्तुत गरेका थिए ।
विद्यालयमा व्यवस्थापन तथा शिक्षा समूहअन्तर्गत पठनपाठन हुँदै आएको छ । प्रधानाध्यापक बालकृष्ण बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम कक्षा १२ का विद्यार्थीहरूले सञ्चालन गरेको विद्यालयका शिक्षक भोजराज बास्तोलाले जानकारी दिएका हुन् ।
















