पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा दुई दिने खेलकुद पत्रकारिता तालिम पोखरामा सुरु भएको छ । तालिमको शुक्रबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरिन् । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको सहयोगमा तालिम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रेस रजिष्ट्रार भण्डारीले पत्रकारको वृत्ति विकासका लागि फरक फरक कार्यक्रमहरू गर्न प्रेस रजिष्ट्रारको कार्यालयले सहयोग गर्दै आएको बताइन् । उनले यसप्रकारका तालिमले खेलकुद बिटमा कलम चलाउने पत्रकारहरूलाई क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले यस्तो तालिमले खेलकुदसँगै खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने धारणा राखिन् ।
तालिममा क्रिकेट, फुटबल, भलिबल, गल्फ, मार्सल आर्टका बारेमा सो सँग सम्बन्धित विज्ञहरूले प्रशिक्षण दिने छन् । पहिलो दिन भलिबलको बारेमा राजन पौडेल, क्रिकेटको बारेमा दुर्गानाथ सुवेदी देवेन्द्र, गल्फको बारेमा जीवाराम गुरुङले प्रशिक्षण दिएका छन् । शनिबार फुटबलको बारेमा हिमेश रत्न बज्राचार्य र मार्सल आर्टका सुवास खड्काले प्रशिक्षण दिने छन् । तालिममा पोखाइमा क्रियाशील खेलकुद बिटमा रुचि राख्ने ६० भन्दा बढि पत्रकार सहभागी छन् ।
तालिम उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले पत्रकारिता तालिमले खेल समाचारको लेखन शैली सुधार गर्न सहयोग पुग्ने बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मान बहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय पोखरा खेलकुदको केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै खेलकुदसम्बन्धी समाचार लेखनलाई सशक्त बनाउन तालिम आयोजना गरिएको उल्लेख गरे ।
मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले स्वागत गरेको उद्घाटन सत्रको कार्यक्रम महासचिव परशुराम शर्माले सञ्चालन गरेका थिए । खेल पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । शनिबार पोखरा रङ्गशालाको क्रिकेट मैदानमा पुगेर प्रशिक्षार्थीले प्रयोगात्मक ज्ञान समेत लिनेछन् । मञ्चमा खेलकुद पत्रकारिता विधामा कलम चलाउने पत्रकारहरू आवद्ध रहेका छन् । मञ्चले हरेक वर्ष पोखरामा स्पोर्ट्स अवार्ड समेत गर्दै आएको छ । दशौँ संस्करणको अवार्ड आगामी बैशाखमा गर्ने निर्णय गरी तयारीमा तीव्रता दिइएको समेत मञ्चले जनाएको छ ।
















