पोखरा । गत माघमा दर्शकको भव्य उपस्थितिमा पोखरामा आयोजना गरिएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दाको दोस्रो कार्यक्रमको सफलतासँगै पोखराका पप ब्याण्डको व्यस्तता बढ्न थालेको छ । यो कार्यक्रम पश्चात विभिन्न जिल्लामा समेत गएर प्रस्तुती राखेका उनीहरूलाई विदेशमा समेत माग आउन थालेको छ ।
यसैक्रममा पोखरेली कलाकारको टोली ‘व्याक टु नाइन्टिज लाइभ इन कतार’ कार्यक्रम लिएर कतार प्रस्थान गरेका छन् । कतारमा हुने कार्यक्रमको लागि उनीहरु बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् । ‘व्याक टु नाइन्टिज’ कार्यक्रम लिएर पहिलो वैदेशिक सङ्गीत यात्रा कतारमा गर्न पाउँदा उनीहरू उत्साहित छन् । कतारको एशियाना टाउनको एम्पिथिएटरमा कार्यक्रम हुनेछ । जसमा पोखराका ५ वटा ब्याण्डको प्रस्तुती रहनेछ ।
यो कार्यक्रममा सहभागी हुने ब्यान्डमा मध्याह्न, लेकाली, ब्रोसिस, देउराली व्याण्ड र भेगाबोण्ड रहेका छन् । यी व्याण्डको प्रस्तुती सुन्दै हेर्दै त्यहाँ रम्न पाइनेछ । कार्यक्रम सेप्टेम्बर २६ तारिख शुक्रबार साँझ साढे ६ बजेबाट सुरु हुने बताइएको छ ।
व्याण्डहरूमा पुनर्जागरण ल्याउनका लागि यो कार्यक्रमले थप सघाउने विश्वास उनीहरूको छ । पोखरामा भएको कार्यक्रममा सहभागी बनेको कन्दरा र डिमोर्चा भने सहभागी छैनन् ।
पोखरा साङ्गीतिक कलाकार सङ्घले सुसुप्त अवस्थामा रहेका पुराना साङ्गीतिक व्याण्डहरूको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई सङ्गीतमा लागेर भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदैँ यस तर्फको आकर्षण बढाउने कार्यमा क्रियाशीलता बढाइरहेको छ । ‘व्याक टु नाइन्टिज’ कार्यक्रमलाई निरन्तर अगाडि बढाउदै पोखरेली संगीतको विरासतलाई जोगाउदै थप उचाइमा पुर्याउने कार्यमा लागिरहने सङ्गको प्रतिवद्धता रहेको छ ।
