पोखरा । २२ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी सुरु भएको छ । स्पोर्ट्स अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले पोखरामा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी तयारी सुरु गरेको घोषणा गरेको हो । पोखरा महानगर पालिका प्रवर्द्धक रहेको पल्सर स्पोर्ट्स अवार्ड भदौ २९ गते आयोजना हुनेछ ।
अवार्डको आयोजनाका लागि बुधबार मञ्च र पोखरा महानगर पालिका बीच सम्झौता भएको छ । सम्झौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले हस्ताक्षर गरेका छन् ।
२०६० सालदेखि निरन्तर रूपमा हुँदै आएको अवार्ड कार्यक्रम मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिएको छ । पोखरा महानगर पालिका प्रवर्द्धकको रुपमा रहने भएको हो । सम्झौता पछि बोल्दै पोखरा महानगर पालिकाका मेयर आचार्यले देशकै प्रतिष्ठित कार्यक्रम मध्येको एक पल्सर स्पोर्ट्स अवार्ड पोखरामा आयोजना हुनु खेल क्षेत्रका लागि गौरवको विषय रहेको जनाउँदै अवार्ड सफल बनाउन महानगरको सहकार्य हुने बताए । पोखरामा हरेक साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हुँदै आएको जनाउँदै पोखरामा हुने पल्सर स्पोर्ट्स अवार्डले पोखरालाई अझै थप पहिचान दिने गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने उनको भनाई थियो ।

हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पहिलो पटक काठमाडौँ उपत्यका बाहिर पोखरामा हुने भए पछि यसको तयारी तिव्र पारिएको एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले जनाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अधिकारीले उपत्यका बाहिर आयोजना हुन लागेको अवार्ड चुनौतीपूर्ण हुने भए पनि पोखरा महानगरको सहकार्यले सफल हुने विश्वास व्यक्त गरे । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तराष्ट्रिय स्पोर्ट्स अवार्डको रुपमा सूचीकृत हुन लागेको बताउँदै यसले पोखरा भ्रमण वर्ष २०२५ सफल पार्न सहयोग पुग्ने दावी गरे ।
एनएसजेएफका महासचिव अञ्जन खड्काले यस वर्ष पनि स्पोर्ट्स अवार्डमा दस विधा समावेश गरिएको जानकारी दिए । पल्सर स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन । सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिने आयोजकले जनाएको छ ।
अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई मोटरसाइकल प्रदान गरिनेछ भने अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई जनही नगद रु १–१ लाख प्रदान गरिने छ । महासचिव खड्काले भोटिङ मार्फत हुने पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए । अवार्ड कार्यक्रमलाई सफल बनाउन एनएसजेएफका अध्यक्ष अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ भने साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको मञ्चका निवर्तमान अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्रले जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले पनि बोलेका थिए ।












