पोखरा । पोखरामा आयोजित ‘सुपर भ्वाइस अफ त्रिवेणी किड्स’को चौथो संस्करणमा ३१ जना बालप्रतिभा सेमी फाइनलका लागि छनोट भएका छन् ।  शनिबार भएको प्रतिष्पर्धाबाट ४२ जना प्रतिस्पर्धीमध्ये ३१ जना छनोट गरिएको कार्यक्रम संयोजक सुनिल बरालले जानकारी दिए । त्रिवेणी सङ्गीतालय, पोखरा कास्कीले बालप्रतिभाको खोजी अभियानअन्तर्गत आयोजना गरेको यो प्रतियोगिता अन्तरगत शनिबार पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालको प्रमुख आतिथ्यतामा क्वाटरफाइनलको प्रतिष्पर्धा भएको थियो । 

कार्यक्रममा बोल्दै ढकालले यस्ता कार्यक्रमले नयाँ प्रतिभालाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । निरन्तर रुपमा कार्यक्रम आयोजना गरेर सङ्गीतालयले साङ्गीतिक क्षेत्रमा थुप्रै नयाँ प्रतिभा जन्माउन  सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले पोखराको बारेमा गाएको गीत पनि सुनाए । उनले आफूले यस्तै कार्यक्रम आयोजना गर्दा रितु लामा र सिडि विजय अधिकारी लगायतका प्रतिभा साङ्गीतिक क्षेत्रमा आउन सफल भएको समेत स्मरण गरे ।

सेमिफाइनलको लागि छनोट हुनेमा आहाना गुरुङ, आरोहा अधिकारी, आयान गहतराज, आशिमा सेन, आविष्कार पुन, अङ्कित छन्त्याल, अंशिका गिरी, अन्शु भुजेल, अन्वेषा घिमिरे, अपार गुरुङ, अश्विन सुवेदी, विद्या तामाङ, विजय अधिकारी, दिया थापा मगर, दीपशिखा थापा र दृष्टान्त सापकोटा रहेका छन् ।

यसैगरी  एरिका रञ्जित, इभा बाँस्तोला, इभान रञ्जित, हर्षिद बोहरा, ओमिषा गुरुङ, ओभिया गुरुङ,  प्राप्ति पौडेल, प्रशंसा ढुङ्गाना, प्रसङ्ग ढुङ्गाना, प्रतिष्ठा कँडेल, रहाना पहारी, रिहान सुनार,  रुबल आले,, सन्ध्या ढकाल, र सिजल श्रेष्ठ पनि सेमी फाइनलका लागि छनोट भएको संयोजक बरालले जनाए । यो राउन्डमा प्रतियोगीले स्वेच्छिक गीत ट्रयाकमा गाएको उनले खुलाए ।

त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक नवराज बरालका अनुसार प्रारम्भिक चरणमा करिब २५० जनाबाट १८० जना छनोट गरिएको थियो । त्यसपछि १८० जनाबाट १०२ जना हुँदै  ६० जना छनोट गरिएको थियो । शनिबार ४२ जनाबाट ३१ जना छनोट गरेपछि अब सेमी फाइनलबाट फाइनल चरणमा २० जनाबीच प्रतिस्पर्धा गराइनेछ । सेमी फाइनलमा निर्णायकको ८० प्रतिशत र २० प्रतिशत भोटिङको लागि अकंभार रहनेछ । अब प्रतियोगीले लोक गीत वा राष्ट्रिय गीत लाइभ बाजामा गाउनुपर्नेछ ।

फाइनल प्रतिस्पर्धाबाट उत्कृष्ट १० जना बालप्रतिभाले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न जिल्लाका विभिन्न विद्यालयबाट बालप्रतिभाको सहभागिता रहेको बरालले बताए । प्रतियोगितामा नेपाली भाषाका गीतलाई प्राथमिकता दिइएको छ । सहभागीले विभिन्न विधाका नेपाली गीत प्रस्तुत गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।  

कार्यक्रम संयोजक बरालका अनुसार ‘सुपर भ्वाइस अफ त्रिवेणी किड्स’ कार्यक्रम त्रिवेणी सङ्गीत पुरस्कार अक्षयकोष सहयोगार्थसमेत आयोजना गरिएको हो । प्रतियोगितामार्फत नयाँ पुस्तामा संगीतप्रतिको रुचि र प्रतिभालाई प्रोत्साहन गर्दै नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्य रहेको आयोजकले जनाएका छन् । 

सेमी फाइनलको प्रतिष्पर्धा कार्तिक १४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभागृहमा  हुने उनले बताए ।  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0