पोखरा। पर्यटनको राजधानी पोखरामा आउँदो शनिबार आयोजना हुने तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताका लागि हालसम्म १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगिताका लागि असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । खेल पर्यटन मार्फत ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने उनको भनाइ छ ।
पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित असोज २४ गते शनिबार प्रतियोगिता आयोजना गर्न लागिएको सो अवसरमा जानकारी गराइयो । विश्वशान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटस्थित विशाल महादेवको मूत्र्ति परिक्रमा गर्दै पोखरा–२२ को वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी छ विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, १५ हजार, सात हजार र तीनहजार रुपैयाँ प्राप्त गर्ने पत्रकारसम्मेलनमार्फत् जानकारी गराइयो । प्रतियोगितामा छैटौँदेखि दशौँ स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही एकहजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
वडास्तरीय खुला, महिला र यू–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, सात हजार र तीनहजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले सात हजार रुपैयाँ पाउनेछन् भने भेट्रानतर्फ विजेतालाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकद्वारा वितरित विज्ञप्तिमा उल्लेख छ ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले तालवारी लेकसाइड, लेकसाइडको तालपारि रहेको पुम्दी–भुम्दी क्षेत्रको खेल पर्यटन प्रवर्द्धनमा पर्वतीय दौडले महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले प्रतियोगिताले उक्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन सहयोग पुग्ने उल्लेख गर्दै प्रतियोगितालाई सफल बनाउन वडा कार्यालयलेसमेत अपनत्व लिएको बताए । वडा अध्यक्ष बरालले पोखरा–२२ मा निर्माण भइरहेका पदमार्गले आगामी दिनमा पोखरा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे । साथै उनले उक्त दौडलाई वडाले आफ्नो पुंजिको रुपमा लिने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्वतीय दौड प्रतियोगिता आयोजकको मात्र नभई पोखराका सम्पूर्ण पर्यटन व्यवसायीसमेतको अपनत्वको कार्यक्रम भएको बताए । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पदक दिलाएका धावकहरू प्रतियोगितामा सहभागी भएको अवस्थामा आवश्यक आतिथ्य सेवा उपलब्ध गराउने घोषणा गर्दै खेलाडी र खेल पर्यटनलाई प्रोत्साहन गर्न पर्यटन व्यवसायीहरू प्रतिबद्ध रहेकाे बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पर्वतीय दौडले खेल क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र कृषि क्षेत्रकोसमेत प्रवर्द्धनमा योगदान पुर्याउने बताउँदै प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले हाल कायम आठ किलोमिटर दूरीलाई आगामी संस्करणमा थप विस्तार गर्न सुझाव दिए । कालाबाङ घरेडी बुद्ध पार्क समितिका अध्यक्ष राज गुरुङ ‘लाल’ले प्रतियोगिताले पुम्दी–भुम्दीको मात्र नभई समग्र पोखराको खेल तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको बताए । उनले यस वर्षको प्रतियोगितालाई थप भव्य र व्यवस्थित बनाउन समितिकातर्फबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
खेलका माध्यमबाट पोखरा–२२ सहित समग्र पोखराका ग्रामीण क्षेत्रमा रहेको खेल पर्यटनको सम्भावना उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य रहेको छ । प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा मेडिप्लस एन्ड ट्रमा सेन्टर, इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एन्ड सुइट्स, अफिसियल टेलिभिजनमा पोखरा टेलिभिजन तथा आधिकारिक ड्रिङ्किङ वाटरमा ग्लेज नेचुरल स्प्रिङ वाटर रहेका छन् ।
प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, राष्ट्रिय खेलकुद परिषद्, अटो वेज प्रालि, हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउ, शुभ अधिकारी ट्राभल्स, सिटिजन फर्निचर, चिकेन प्वाइन्ट, वडा युवा परिषद्, विश्वशान्ति स्तूप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति तथा विभिन्न व्यवसायी र संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख ९७ हजार रुपैयाँ खर्च हुने केन्द्रका सचिव सागर सुनारले बताए । प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्वअध्यक्ष अवकाशप्राप्त लेफ्टिनेन्ट रिटायर्ड कुसाङकुमार गुरुङले प्रायोजन गरेका छन् । मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीनपटक लगातार जित्ने कीर्तिमान बनाएका गुरुङले एभरेस्ट म्याराथनलगायत विभिन्न अन्तर्राष्ट्रिय दौडमा नेपालको प्रतिनिधित्व गरेको आयोजकले जनाएको छ । यसैगरी, प्रतियोगिताको पहिलो संस्करणदेखि नै नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गर्दै आएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका संयोजक दीननाथ बरालको अध्यक्षतामा शनिबार पोखरामा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।
















