पोखरा । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा बाल अधिकार संरक्षणका विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बालबालिकाको अधिकार संरक्षण, विकास, सहभागिता तथा उनीहरूको सुरक्षित भविष्य निर्माणका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने महत्वपूर्ण जिम्मेवारी अभिभावकको हातमा रहेको बताइन् । बालबालिकालाई भविष्यका कर्णधारका रूपमा मात्रै नभई वर्तमानका अधिकारसम्पन्न नागरिकका रूपमा सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

उनले बालबालिकामाथि कुनै पनि प्रकारको हिंसा, विभेद र शोषण हुन नहुनेमा जोड दिँदै उनीहरूको अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताइन् । मन्त्रालयले बालबालिकाको संरक्षण, विकास र सहभागितासम्बन्धी अधिकार सुनिश्चिततालाई महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएर काम गरिरहेको उनले स्पष्ट पारिन् ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव घनश्याम पौडेलले बाल अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताए । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा विभिन्न गैरसरकारी संघसंस्थाले हालसम्म गरेका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना निर्माणका विषयमा छलफल गरिएको उनले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराका मानव अधिकार अधिकृत टंक खनालले बालबालिकाको संरक्षण, विकास, सहभागिता र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राष्ट्रिय तथा स्थानीय तहमा विभिन्न गतिविधि सञ्चालन भइरहेको बताए ।

समाजमा बाल अधिकारको अवस्था, बाल अधिकारको अवधारणा र यसको प्रभावकारी कार्यान्वयनबारे जानकारी गराउँदै जनचेतना अभिवृद्धि गर्न कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ थियो । बाल अधिकार सुनिश्चितताका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयले बालबालिकाको क्षेत्रमा हालसम्म गरेका तथा आगामी दिनमा सञ्चालन गर्न लागेका गतिविधिबारे महिला विकास अधिकृत विष्णुकुमारी चापागाईंले प्रस्तुतीकरण गरेकी थिइन् ।

त्यसैगरी उच्च अदालत पोखराका उपरजिस्ट्रार निलप्रसाद पनेरुले नेपालको बाल न्याय प्रणालीको अवस्थाबारे, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द सुवेदीले बालबालिकाविरुद्ध हुने अपराधका कारणबारे तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य तथ्याङ्क अधिकृत एवं फोकल पर्सन बुद्धिसागर अधिकारीले बालबालिकाको स्वास्थ्यसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

महिला विकास अधिकृत देवी शर्माले सञ्चालन गरेको कार्यक्रम गैरसरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशको समन्वयमा सम्पन्न भएको हो ।

‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रमले बाल अधिकार संरक्षणका लागि सरकारी निकाय, गैरसरकारी संघसंस्था, अभिभावक तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रदेश बाल सञ्जालमा आवद्ध बालबालिका सहित सरोकारवालाको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0