पोखरा । पोखराको फिर्के खोलाको खोलाघर खाली तथा संरचना हटाउने पछिल्लो अभियानअन्तर्गत हालसम्म २६ वटा संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले सञ्चालन गरिरहेको अभियानअन्तर्गत १२ वटा स्थायी र १४ वटा अस्थायी संरचना हटाइएको हो।

गत जेठ महिनादेखि सुरु गरिएको खोलाघर खाली गर्ने अभियानमा सम्बन्धित घरधनी तथा संरचना निर्माणकर्तालाई आफ्ना संरचना आफैँ हटाउन तथा खाली गर्न पटक–पटक आग्रह गर्दै अन्तिम अवसरसमेत प्रदान गरिएको थियो। त्यस क्रममा पनि खाली नभएका वा स्वयं हटाउन नसकिएका संरचना महानगरपालिकाले हटाउन थालेको हो।

महानगरपालिकाका अनुसार पछिल्लो चरणमा सुरु गरिएको संरचना हटाउने अभियान अहिले चौथो दिनमा पुगेको छ। अभियानका क्रममा खोलाघरभित्र रहेका बाँकी संरचनासमेत क्रमशः हटाउँदै गाईघाटसम्म पुगेर अभियान सम्पन्न गर्ने तयारी गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्के खोलाको जलप्रवाह क्षेत्र संरक्षण तथा व्यवस्थित सहरी विकासका लागि अभियानलाई निरन्तरता दिइएको जानकारी दिएका छन्।

प्रमुख आचार्यका अनुसार फिर्के खोलाको खोलाघर खाली गर्ने कार्य पोखराको दीर्घकालीन हितसँग जोडिएको विषय हो। खोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षणसँगै भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण र व्यवस्थित सहरी विकासका लागि अभियान महत्वपूर्ण रहेको महानगरको भनाइ छ।

महानगरपालिकाले अभियानलाई सफल बनाउन नगरवासी, सरोकारवाला तथा सम्बन्धित पक्षबाट आवश्यक सहयोग, समन्वय र सहजीकरणको अपेक्षा गरेको छ।

महानगरपालिकाले अभियानमा सहयोग तथा समन्वय गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै खोलाघरभित्र रहेका बाँकी संरचना हटाउने कार्यसमेत निरन्तर अघि बढाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0