पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यतिबेला ‘सेतो डुङ्गा फेरिएको बाटो’ मञ्चन भइरहेको छ। असोज ९ गतेदेखि सुरु भएको नाटक असोज २५ गतेसम्म निरन्तर मञ्चन हुँदैछ।
लेखक तथा निर्देशक मणि कुलुङ राईको सिर्जनामा तयार भएको यो नाटक मनोरञ्जनका लागि मात्र नभई नेपाली समाजको एउटा भूगोल, संस्कृति, जीवनशैली र पुस्तान्तरण हुँदै आएका कथालाई नजिकबाट बुझ्ने अवसरका रूपमा प्रस्तुत भएको छ।
पूर्वी नेपालको राई समुदायको सामाजिक जीवन, संस्कृति र गाउँले परिवेशलाई कथाको आधार बनाइएको नाटकले पुराना पुस्ताले भोगेका अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको छ। विशेषगरी गाउँमै बसेर केही गरौँ भन्ने चाहना राख्ने सीपयुक्त व्यक्तिले समाजबाट पर्याप्त साथ र विश्वास नपाउँदा अन्ततः विदेशिनुपर्ने बाध्यतालाई नाटकले कारुणिक ढंगले प्रस्तुत गरेको छ।

नाटकको कथा डुङ्गा चलाउने माझीको जीवनसँग जोडिएको छ। माझीको भूमिकामा रंगकर्मी रमेशबाबु तिमल्सिनाले अभिनय गरेका छन्। बोजुको भूमिकामा रश्मी रेग्मी, शोभा अधिकारी र सरिता हमालले अभिनय गरेका छन्। ठूलो बा को भूमिकामा जोर्डन सिपाली, मौसमीमा महिमा हिताङ, अनौठो ढाक्रेको भूमिकामा युनिस लामा तथा ठूलो दिदीको भूमिकामा आयूशी खड्काले अभिनय गरेका छन्।
यसैगरी कैलाश शरण बराल, सुमन अछामी, सागर पौडेल, सुजाता पौडेल, अर्पना श्रेष्ठ, सविता परियार, बृजेश गुरुङ र उषा केसीलगायत कलाकारको अभिनयले नाटकलाई जीवन्त बनाउने प्रयास गरेको छ। कलाकारको अभिनय, संवाद, मञ्चीय प्रस्तुति र कथाको भावनात्मक उतारचढावले दर्शकलाई कथासँग जोड्ने प्रयास गरेको देखिन्छ।
खोटाङको रावाबेसी–६ का लेखक तथा निर्देशक राई पछिल्लो समय काठमाडौंमा रहेर रंगमञ्च यात्रालाई निरन्तरता दिइरहेका छन्। उनका अनुसार ‘सेतो डुङ्गा फेरिएको बाटो’ करिब एक वर्षअघि लेखिएको हो। पुराना कुरा, लोप हुँदै गएका संस्कृति र रैथाने पक्षलाई नाटकमार्फत नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले नाटक तयार गरिएको उनले बताए।
नाटकमा लोप भइसकेका वा लोपोन्मुख बाजालगायत रैथाने सांस्कृतिक पक्षलाई समेत समेटिएको छ। त्यसैले यो नाटक केवल एउटा कथा हेर्ने विषयमा सीमित छैन। नेपाली समाजको विविधता, गाउँको जीवन, सीप र श्रमको मूल्य तथा अवसरको खोजीमा विदेशिनुपर्ने बाध्यतालाई बुझ्न चाहने दर्शकका लागि पनि नाटक महत्वपूर्ण माध्यम बन्न सक्छ।

राईले आफूले धेरै नाटक लेखिसकेको र अभिनयसमेत गर्दै आएको बताउँदै ‘सेतो डुङ्गा फेरिएको बाटो’ आफ्नो एकल निर्देशनमा तयार भएको दोस्रो नाटक भएको जानकारी दिए। आगामी दिनमा पनि निरन्तर नाटक लेखन, निर्देशन र अभिनयमा सक्रिय रहने उनको भनाइ छ।
पोखरा थिएटरका प्रमुख कार्यकारी अधिकृत परिवर्तनले नेपाली सांस्कृतिक विविधतालाई रंगमञ्चमार्फत जोड्ने प्रयासका रूपमा नाटकको मञ्चनलाई अर्थपूर्ण यात्राका रूपमा व्याख्या गरेका छन्। पूर्वी नेपालको राई समुदायको संस्कृति, जीवन र कथालाई पोखराको रंगमञ्चमा प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको उनको भनाइ छ।
उनका अनुसार रंगमञ्च कथा सुनाउने माध्यम मात्र होइन, फरक भूगोल र समुदायका मानिसबीच एक–अर्काको संस्कृति बुझ्ने र जोडिने साझा थलो पनि हो। यही दृष्टिले हेर्दा ‘सेतो डुङ्गा फेरिएको बाटो’ पोखराका दर्शकले हेर्नुपर्ने एउटा सांस्कृतिक दस्तावेज पनि बन्न सक्छ।

विशेषगरी नयाँ पुस्ताले आफ्नै देशभित्र रहेका फरक समुदायका जीवन, भाषा, संस्कृति, परम्परा र संघर्षलाई नजिकबाट बुझ्न यस्ता नाटकले महत्वपूर्ण भूमिका खेल्छन्। पुस्तक वा दस्तावेजमा पढिने संस्कृति रंगमञ्चमा पात्र, संवाद, संगीत र अभिनयमार्फत प्रत्यक्ष अनुभूति गर्न पाउनु यसको विशेषता हो।
त्यसैले ‘सेतो डुङ्गा फेरिएको बाटो’लाई केवल दुई घण्टाको मनोरञ्जनका रूपमा मात्र हेर्नुभन्दा हामीले बिर्सँदै गएका संस्कृति, गाउँको जीवन र पुस्तान्तरण गर्नुपर्ने कथालाई बुझ्ने अवसरका रूपमा हेर्नु उपयुक्त हुन्छ। पोखरामा बसेर पूर्वी नेपालको राई समुदायको कथा र संस्कृतिलाई रंगमञ्चमा अनुभूति गर्न चाहने दर्शकका लागि यो नाटक हेर्नुपर्ने एउटा कारण यही हो।
करिब दुई घण्टा अवधिको नाटक सोमबारबाहेक हरेक दिन साँझ सवा ५ बजे मञ्चन भइरहेको छ। शनिबार र आइतबार भने अतिरिक्त सोका रूपमा दिउँसो साढे १ बजे पनि नाटक मञ्चन हुनेछ।

















