पोखरा । भुटानी राष्ट्रिय पुरुष क्रिकेट टोलीले मंगलबारदेखि पोखरामा मैत्रीपूर्ण टी–२० क्रिकेट खेल्ने भएको छ ।
आगामी आईसीसी मेन्स टी–२० क्वालिफायरको तयारीमा रहेको भुटानी टोलीले पोखरा रंगशाला क्रिकेट मैदानमा गण्डकी प्रदेश र क्यान–११ विरुद्ध चार वटा टी–२० खेल खेल्नेछ ।
यसअघि असोज ११ गतेदेखि खेल सुरु गर्ने तयारी भए पनि लगातारको वर्षाका कारण खेल दुई दिन पछाडि धकेलिएको गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले जानकारी दिए । उनका अनुसार मैत्रीपूर्ण खेलका लागि आवश्यक तयारी पूरा भएको छ ।
पोखरामा पहिलो पटक भ्रमण गर्न लागेको भुटानी राष्ट्रिय टोलीको आगमनले यहाँको क्रिकेट गतिविधिसँगै खेल पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
टी–२० क्वालिफायरमा सहभागी हुनुअघि नेपालमा मैत्रीपूर्ण खेल खेल्न लागेको भुटानी टोलीको पोखरा भ्रमणलाई गण्डकी प्रदेश क्रिकेट संघले विशेष महत्व दिएको सचिव कार्कीले बताए ।
गण्डकी प्रदेशले पनि मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली घोषणा गरी तयारी तीव्र पारेको छ । गण्डकी टोलीको कप्तानी विपिन खत्रीले गर्नेछन् ।
टोलीमा अर्जुन कुमाल, सुभाष भण्डारी, सन्दिप खत्री क्षेत्री, दीपक डुम्रे, समीर कँडेल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, ईश्वर क्षेत्री, करण पंगेनी, कृष्ण पौडेल, सुदिप अर्याल, रोहित चन्द, बिश्व कार्की, मुस्कान थापा र अभिषेक थापा छन् ।
सचिव कार्कीले गण्डकीको टोली सन्तुलित रहेको बताए । भुटानसँगको खेलले पोखरा रंगशालाको क्रिकेट मैदानको चर्चा बढाउनुका साथै अन्य खेलाडी तथा टोलीलाई पनि पोखरामा आएर खेल्न प्रेरित गर्ने उनको विश्वास छ ।
आईसीसी मेन्स टी–२० क्वालिफायर मलेसियामा अक्टोबर ३ देखि सुरु हुँदैछ । क्वालिफायरअघि तयारीका लागि नेपाल आएको भुटानी टोलीको खेललाई लक्षित गर्दै पोखरा रंगशालास्थित क्रिकेट मैदान तयारी अवस्थामा राखिएको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा यसअघि १३औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत चार राष्ट्रका सिनियर महिला टोलीबीचको प्रतिस्पर्धा भएको थियो । साथै, सन् २०२९ मा मलेसियाको राष्ट्रिय पुरुष क्रिकेट टोलीले समेत पोखरामा प्रशिक्षण गरेको थियो ।
भुटानी राष्ट्रिय टोलीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय टोलीलाई प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि पोखरा आकर्षित गर्ने सम्भावना बढाएको गण्डकी प्रदेश क्रिकेट संघको विश्वास छ ।
















