पोखरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, गण्डकी प्रादेशिक कार्यालय पोखराले उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गरिरहेको छ। कम्पनीले गत साउन २६ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो।
‘सबेरैदेखि अबेरसम्म’ भन्ने नाराका साथ सञ्चालन भइरहेको पसल नियमित कार्यालय हुने दिन बिहान साढे ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने गरेको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख कौशल घिमिरेले जानकारी दिए। सार्वजनिक बिदाका दिन भने कार्यालय समयअनुसार सेवा दिइने उनले बताए।
नेपाल सरकारको निर्देशनअनुसार बजार मूल्यलाई वाञ्छित सीमाभित्र राख्न तथा उपभोक्तालाई राहत दिन पसलमार्फत चिनी, दाल, तेल, चामललगायतका खाद्य सामग्री बिक्री भइरहेको छ। हुम्लाको अर्गानिक कागुनोलगायत स्थानीय तथा पौष्टिक खाद्य सामग्रीसमेत पसलमा उपलब्ध रहेको घिमिरेले बताए।
सहुलियत पसलमा चिनी प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको छ। एक जना उपभोक्ताले एकपटकमा अधिकतम पाँच केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, अरुवा सोना मन्सुली चामल प्रतिबोरा १ हजार ४२५ रुपैयाँ, स्टिम जिरा मसिनो चामल तथा एफआरके स्टिम जिरा मसिनो चामल प्रतिबोरा २ हजार १२५ रुपैयाँमा उपलब्ध छ। कागुनो प्रतिकेजी २६० रुपैयाँ, मुसुरोको दाल १४० रुपैयाँ र मासको दाल १९० रुपैयाँमा बिक्री भइरहेको कम्पनीले जनाएको छ।
पछिल्ला दिनमा पौष्टिक तत्व थप गरिएको चामलप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको घिमिरेले बताए। उक्त चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन ‘बी–१२’, थायमिन, नियासिन र पाइरिडक्सिनलगायतका पोषक तत्व थप गरिएको हुन्छ।
पोखरास्थित प्रादेशिक कार्यालयले गण्डकीका साथै दुर्गम हिमाली जिल्लामा समेत खाद्य सामग्री पठाउँदै आएको छ। कार्यालयका अनुसार डोल्पामा करिब ६४० क्विन्टल खाद्य सामग्री पठाइसकिएको छ। मुस्ताङमा १३० क्विन्टल चिनी तथा अन्य गरी करिब १६० क्विन्टल खाद्य सामग्री पठाइएको घिमिरेले जानकारी दिए।
मनाङमा भने बाटो खुल्नेबित्तिकै खाद्य सामग्री पठाउने तयारी गरिएको उनले बताए।
सहुलियत पसलमा सार्वजनिक बिदाका दिनसमेत उपभोक्ताको भीड लाग्ने गरेको छ। पछिल्ला दिनमा कारोबार बढ्दै गएको र सहुलियत मूल्यका कारण उपभोक्तालाई बजारमा भइरहेको मूल्यवृद्धिको असरबाट केही राहत मिलेको कम्पनीको दाबी छ।
















