तनहुँ । लोकलयमा आधारित पप संगीतका लागि चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यले तनहुँको शुक्लागण्डकीमा सांगीतिक प्रस्तुति दिने भएको छ । लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा आगामी मंसिर १२ गते ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ आयोजना हुन लागेको हो ।
भानुभक्त बहुमुखी क्याम्पस, बेलचौताराको खेलमैदानमा हुने कन्सर्टमा नेपथ्यले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछ । आयोजकले कार्यक्रमलाई शुक्लागण्डकीको सांगीतिक क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।
कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले कन्सर्टले शुक्लागण्डकीमा ऐतिहासिक सांगीतिक वातावरण सिर्जना गर्ने दाबी गरेको छ । सो अवसरमा कार्यक्रमको प्रचारप्रसारका लागि तयार पारिएको ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ अंकित टिसर्टसमेत सार्वजनिक गरिएको थियो ।
लायन्स इन्टरनेशनलको ‘पढाउ’ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक खुमबहादुर विक ‘राजु’ले जानकारी दिए ।
उनका अनुसार कन्सर्टमा १० हजारभन्दा बढी संगीतप्रेमीको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमबाट करिब एक करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उनले बताए ।
कन्सर्टबाट हुने बचत रकम लायन्स क्लब इन्टरनेशनल ३२५ एमको ‘पढाउ’ अभियानअन्तर्गत शिक्षा क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । बचत रकमबाट विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री तथा पोसाक वितरण गर्ने लक्ष्य राखिएको छ ।
‘संगीतको माध्यमबाट विद्यार्थी तथा युवापुस्तालाई सकारात्मक र सिर्जनात्मक गतिविधिसँग जोड्न चाहन्छौं,’ संयोजक विकले भने, ‘संगीतको धुनमार्फत सामाजिक एकता र सद्भाव प्रवद्र्धन गर्दै शुक्लागण्डकीलाई सांगीतिक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो उद्देश्य हो ।’
कार्यक्रमले स्थानीय व्यवसाय तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ । साथै, लायन्स क्लबको सामाजिक सेवामुखी अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
संगीत मनोरञ्जनको माध्यम मात्रै नभई समाजलाई जोड्ने, सकारात्मक सन्देश प्रवाह गर्ने र सामाजिक अभियानलाई अघि बढाउने प्रभावकारी माध्यम भएको संयोजक विकले बताए । उनका अनुसार कन्सर्टमार्फत तनहुँसँगै कास्की, स्याङ्जा, लमजुङ, गोरखा, पाल्पालगायत आसपासका जिल्लाका संगीतप्रेमी, विद्यार्थी, युवा, व्यवसायी, उद्यमी, पेसाकर्मी तथा सर्वसाधारणलाई एउटै सांगीतिक मञ्चमा जोड्ने लक्ष्य राखिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले कार्यक्रमले संगीतप्रेमीलाई जोड्नुका साथै युवालाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउन सहयोग पुग्ने बताए ।
‘स्थानीय तहको हैसियतमा गर्नुपर्ने सहयोग गर्नेछौं,’ उनले भने, ‘अहिलेका युवासँग संगीतमा मात्रै होइन, विकास निर्माणमा पनि हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’
भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले कार्यक्रम आयोजना हुनुअघि नै बचत रकम शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरिनुले सकारात्मक सन्देश दिएको बताए ।
म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कार्यक्रमले संगीत क्षेत्रका अग्रज तथा उदयमान कलाकारलाई समेत उत्साह थप्ने बताए ।
लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुंगानाले आफूहरूले ऐतिहासिक सांगीतिक क्षणका लागि वातावरण तयार गर्ने प्रयास गरेको बताए ।
‘अब यो कार्यक्रमलाई अझ धेरै ऐतिहासिक र भव्य तरिकाले सम्पन्न गराउने जिम्मेवारी तपाईंहरूलाई नै सुम्पिएका छौं,’ उनले भने, ‘जसरी आज यहाँहरूले उत्साहपूर्ण साथ दिनुभएको छ, त्यसरी नै कार्यक्रम सम्पन्नपश्चात् पनि साथ पाउने अपेक्षा गरेका छौं ।’
क्लबले आगामी वर्षहरूमा समेत यस्ता सांगीतिक तथा सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
पत्रकार सम्मेलनमा शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, क्लबका सचिव सुरेश पौडेल, प्रचारप्रसार संयोजक शंकर पन्तलगायतले कार्यक्रमका विभिन्न पक्षबारे जानकारी दिएका थिए ।
















