पोखरा । अविरल वर्षाका कारण पोखराको रामघाटस्थित सेती नदीमा फेरि तालजस्तो अवस्था देखिएको छ। वर्षासँगै नदीको बहाव बढेपछि रामघाट क्षेत्रमा पानी फैलिएर ताल बनेको हो।
रामघाटमा सेती नदीको पानी यसरी फैलिएको यो पहिलोपटक भने होइन। वर्षायाममा नदीको बहाव बढ्दा यस क्षेत्रमा पटक–पटक पानी जम्मा हुने गरेको छ। हरेक वर्ष दोहोरिने यस्तो अवस्थालाई सामान्य मौसमी घटना मानेर बेवास्ता गर्ने कि सम्भावित ठूलो विपद्को पूर्वसंकेतका रूपमा लिएर दीर्घकालीन समाधान खोज्ने भन्ने प्रश्न अहिले उठेको छ।
सेती नदी पोखराको प्राकृतिक पहिचान र पर्यटनको महत्वपूर्ण आधार हो। तर यही नदी पोखराका लागि गम्भीर जोखिमको स्रोत पनि बन्न सक्छ। माथिल्लो जलाधार क्षेत्रमा अत्यधिक वर्षा, पहिरो वा नदीको प्राकृतिक बहावमा अचानक अवरोध उत्पन्न भएमा सेतीको पानीको सतह छोटो समयमै असामान्य रूपमा बढ्न सक्ने जोखिम छ।
रामघाट क्षेत्रमा सेती नदीको भौगोलिक संरचना, नदीको बहाव, आसपासको भू–उपयोग तथा वर्षायाममा आउने ठूलो पानीको मात्रा महत्वपूर्ण विषय हुन्। पानीको बहाव बढ्दा नदीको केही भागमा पानी फैलिनु वा थुनिएजस्तो देखिनुले नदीको प्राकृतिक बहाव क्षेत्रबारे थप अध्ययन आवश्यक रहेको संकेत गर्छ।

विशेषगरी पोखरा उपत्यकाको तीव्र सहरीकरणसँगै नदी आसपास निर्माण भएका संरचना र नदीको प्राकृतिक क्षेत्रमाथिको बढ्दो दबाबले भविष्यमा जोखिम बढाउन सक्ने सम्भावनालाई बेवास्ता गर्न सकिँदैन।
सेती नदीले पोखरालाई पटक–पटक आफ्नो शक्ति देखाइसकेको छ। २०६९ साल बैशाख २३ गते अन्नपूर्ण क्षेत्रमा आएको आकस्मिक बाढीका कारण पोखरामा ठूलो जनधनको क्षति भएको घटना अझै ताजा छ। त्यसैले सेतीमा पानी बढ्नु वा कुनै स्थानमा तालजस्तो अवस्था देखिनुलाई केवल ‘वर्षाको असर’ भनेर सीमित गर्नु जोखिमपूर्ण हुन सक्छ।
आज रामघाटमा पानी जमेको छ। भोलि माथिल्लो क्षेत्रमा पहिरो गएर सेतीको बहाव थुनियो भने के हुन्छरु कुनै साँघुरो भागमा प्राकृतिक वा मानवीय अवरोध उत्पन्न भयो भने त्यसको प्रभाव कति टाढासम्म पर्न सक्छरु यस्ता प्रश्नको वैज्ञानिक उत्तर खोज्नुपर्ने बेला आएको छ।
रामघाटमा हरेक वर्ष दोहोरिने समस्यालाई पोखरा महानगरपालिकाले दीर्घकालीन योजनाको विषय बनाउनुपर्ने देखिन्छ। महानगरले सेती नदीको समग्र जोखिम अध्ययन तथा जोखिम नक्साङ्कन गर्नुपर्ने आवश्यकता छ। नदीको प्राकृतिक बहाव क्षेत्र, जोखिमयुक्त बस्ती, पहिरो सम्भावित क्षेत्र, नदीमा अवरोध हुन सक्ने स्थान र नदी किनारमा निर्माण भएका संरचनाको प्राविधिक अध्ययन आवश्यक छ।
त्यसैगरी जोखिमयुक्त क्षेत्रमा नयाँ संरचना निर्माणमा कडाइ, नदीको प्राकृतिक क्षेत्र संरक्षण, नियमित अनुगमन तथा विपद् पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। रामघाटलाई पर्यटकीय तथा सौन्दर्यीकरणको क्षेत्रका रूपमा विकास गर्ने योजना अघि बढाउँदा पनि त्यसअघि बाढी र जलविज्ञानसम्बन्धी वैज्ञानिक अध्ययन अनिवार्य हुनुपर्ने देखिन्छ।
सेती नदीको जोखिम पोखरा महानगरपालिकाको सीमाभित्र मात्र सीमित विषय होइन। सेतीको जलाधार क्षेत्र माथिल्लो भूभागसम्म फैलिएको भएकाले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक छ। सरकारले सेती नदीको जलाधार क्षेत्रलाई समेटेर दीर्घकालीन जलाधार तथा विपद् जोखिम व्यवस्थापन योजना बनाउन आवश्यक छ।

जल तथा मौसम विज्ञान विभाग, भूगर्भविद्, जलविज्ञानी, विपद् व्यवस्थापन विज्ञ, स्थानीय तह र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरी नदीको जलसतह र माथिल्लो जलाधारको वर्षा निगरानी गर्नुपर्छ। अझ महत्वपूर्ण कुरा, जोखिम बढ्नुअघि नै नागरिकलाई सूचना पुग्ने गरी पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक छ।
सेतीमा पानीको बहाव बढेका बेला नदी किनारमा जाने, फोटो तथा भिडियो खिच्ने वा नदीको अवस्था हेर्न भीड लाग्ने प्रवृत्ति जोखिमपूर्ण हुन सक्छ। नदी किनारमा बसोबास गर्ने नागरिकले वर्षाका बेला स्थानीय प्रशासन, महानगर तथा सुरक्षा निकायले जारी गर्ने सूचना नियमित रूपमा लिनुपर्छ। जोखिमको संकेत देखिएमा सुरक्षित स्थानतर्फ जान ढिला गर्नु हुँदैन।
विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई नदी किनारमा जान नदिन र आकस्मिक अवस्थाका लागि परिवारस्तरमै सुरक्षित स्थान तथा सम्पर्क व्यक्तिको योजना बनाउनु आवश्यक छ।
















