पोखरा । पोखराको न्यूरोडस्थित सिटीजन फर्निचर ट्रेड लिंक प्रालिका सञ्चालक दीपक कार्कीले नेपालमा उपलब्ध काठको उपयोग बढाउन सके स्वदेशी उत्पादनलाई समेत प्रोत्साहन गर्न सकिने बताएका छन्।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्कीले नेपालमा फर्निचर उत्पादनका लागि आवश्यक काठको उपलब्धता र प्रयोगसम्बन्धी प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राखे। उनका अनुसार नेपालमा पाइने काठमध्ये केही प्रयोगमा आउन नसक्दा खेर जाने अवस्था रहेको छ।

‘नेपालमा साल, सिसौलगायतका काठ पाइन्छन्। तर आवश्यक काठ प्रयोग गर्न विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने अवस्था छ,’ कार्कीले भने, ‘स्वदेशी काठको प्रयोग सहज हुने गरी नीति र प्रक्रिया सुधार गर्न आवश्यक छ।’

कार्कीका अनुसार सिटीजन फर्निचरले बिक्री गर्ने करिब ७५ प्रतिशत सामान आफ्नै कारखानामा उत्पादन गर्दै आएको छ। बाँकी करिब २५ प्रतिशत सामान भारत र चीनबाट आयात गरी बिक्री वितरण गर्ने गरिएको उनले बताए।

नेपालमा उत्पादन गर्दा आवश्यक फिनिसिङलगायतका पक्षमा समस्या हुने केही सामान विदेशबाट ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

फर्निचरमा २० देखि ३० प्रतिशतसम्म छुट

यसैबीच सिटीजन फर्निचरले आफ्ना विभिन्न फर्निचरका सामानमा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीका सञ्चालक कार्कीका अनुसार दशैं तिहार लगायतका चाडपर्वलाई ध्यान दिइ गुणस्तरीय फर्निचर तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले छुट योजना ल्याइएको हो।

कम्पनीले २० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मका फर्निचरका सामान बिक्री गर्दै आएको जनाएको छ। कार्कीका अनुसार कम्पनीमा बिक्री हुने सोफामध्ये करिब ९९ प्रतिशत आफ्नै कारखानामा उत्पादन हुने गरेका छन्।

फर्निचर खरिद गर्दा मूल्यसँगै गुणस्तर, वारेन्टी, ग्यारेन्टी र बिक्रीपछिको सेवासमेत हेर्न उनले उपभोक्तालाई आग्रह गरे। सामाजिक सञ्जालमा देखिने विज्ञापनका आधारमा मात्र सामान खरिद गर्दा समस्या आउन सक्ने भन्दै उनले बिक्रीपछिको जिम्मेवारी लिने व्यवसायीबाट सामान खरिद गर्न सुझाव दिए।

१४ वर्षमा २७५ जनालाई रोजगारी दिएको कम्पनीको भनाइ

कार्कीका अनुसार सिटीजन फर्निचरले फर्निचर व्यवसायमा १४ वर्ष पूरा गरेको छ। पाल्पाबाट पोखरा आएर व्यवसाय सुरु गर्दा चुनौती रहे पनि ग्राहकको साथ र विश्वासका कारण व्यवसाय विस्तार गर्न सफल भएको उनले बताए।

उनका अनुसार कम्पनीले हालसम्म २७५ जनालाई रोजगारी दिएको छ। अहिले कम्पनीका चारवटा आउटलेट सञ्चालनमा रहेको र आगामी दिनमा थप आउटलेट विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

कम्पनीले बजारको मागअनुसार लगानी गर्दै आएको भए पनि फर्निचर व्यवसायमा विभिन्न चुनौती रहेको कार्कीको भनाइ छ।

२०७० असार २६ देखि पोखरामा सिटिजन फर्निचर संचालन सुरु भएको हो । कम्पनीले न्यूरोड क्षेत्रमै मुख्य शोरुमसहित ४ आउटलेट संचालन गरेको छ । सिटिजन फर्निचरसहित सिटिजन फर्निसिङ सप्लायर्स संचालित छ । यसैगरी, सिटिजन फर्निचर एण्ड फर्निसिङ हव तथा अर्को सिटिजन कम्प्युटर एण्ड मेन्टिनेन्स पसल छ ।

स्वदेशी काठ प्रयोगमा नीतिगत सहजताको माग

फर्निचर व्यवसायी कार्कीले नेपालमा उपलब्ध काठको प्रयोगलाई सहज बनाउन सके आयातमा निर्भरता घटाउन सहयोग पुग्ने धारणा राखे।

उनका अनुसार फर्निचर उत्पादनमा प्रयोग हुने काठ तथा काठजन्य सामग्रीको उपलब्धता, गुणस्तर र फिनिसिङका आधारमा केही सामग्री विदेशबाट ल्याउनुपर्ने अवस्था छ। नेपालमै उपलब्ध काठको प्रयोगसम्बन्धी प्रक्रिया सहज भए स्थानीय कच्चा पदार्थमा आधारित उत्पादन विस्तार गर्न सकिने उनको भनाइ छ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र सदस्य विजय नेपालले पनि बोलेका  थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0