पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई एभिएसन कर्पोरेसन ‘फ्लाईदुबई’ ले दैनिक रूपमा दुबई–पोखरा–दुबई वृत्तखण्डमा आफ्नो नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याएको छ। प्राधिकरणका अनुसार स्वीकृत उडान तालिका अनुसार आज असोज ७ गते फ्लाइदुबईको १६६ सिट क्षमता भएको B737-max8 विमानले पहिलो उडान भरेको हो।
उडान नम्बर FZ1165 मार्फत दुबईबाट ११३ जना यात्री बोकेर आएको उक्त विमान नेपाली समय अनुसार साँझ ६:१८ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सोही विमान पोखराबाट १५२ जना यात्री बोकेर उडान नम्बर FZ1166 मार्फत साँझ ७:५४ बजे दुबईका लागि प्रस्थान गरेको छ।
कार्यालयका अनुसार दुबई–पोखरा उडानको अनुमानित उडान अवधि ४ घण्टा ३० मिनेट र पोखरा–दुबई उडानको अनुमानित उडान अवधि ४ घण्टा ५० मिनेट रहेको छ। संयुक्त अरब इमिरेट्स ९ग्ब्भ्० सँग प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सम्पर्क स्थापित भएसँगै पोखरा तथा गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय पहुँच विस्तार, पर्यटन प्रवर्द्धन तथा यात्रुको आवतजावतमा थप सहजीकरण हुने अपेक्षा गरिएको छ।
नागरिक उड्डयन कार्यालय पोखराका प्रवक्ता तथा उपनिर्देशक जसोदा सुवेदीका अनुसार यस ऐतिहासिक उडान सेवाको शुभारम्भ तथा स्वागत कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सरोकारवाला निकाय, संघसंस्था तथा सम्बन्धित पक्षहरूलाई धन्यवाद ज्ञापन गरिएको छ। साथै, आगामी दिनहरूमा पनि पोखराबाट नियमित र दिगो रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन एवं विस्तारका लागि निरन्तर सहयोग र समन्वयको अपेक्षा गरिएको छ।
















