पोखरा। गण्डकी प्रदेशमा रहेका सांस्कृतिक सम्पदाको व्यवस्थित अभिलेखीकरण, संरक्षण तथा अध्ययनका लागि मानचित्रको प्रयोगलाई थप प्रभावकारी र वैज्ञानिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा पोखरामा सम्पन्न ‘सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको औचित्य’ विषयक गोष्ठीमा सहभागी वक्ताहरूले सांस्कृतिक सम्पदालाई भूगोलसँग जोडेर अभिलेखीकरण गर्न मानचित्र महत्वपूर्ण माध्यम भएको बताएका हुन्।

गोष्ठीमा प्रा. डा. कृष्णप्रसाद पौडेलले ‘सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको औचित्य’ विषयमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो।

गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. दिलबहादुर क्षेत्रीले मानचित्रले सांस्कृतिक सम्पदालाई भूगोलसँग जोडेर प्रस्तुत गर्नुका साथै संरक्षण, अध्ययन र भावी पुस्ताका लागि सम्पदाको वास्तविक पहिचान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको प्रयोगलाई अझ व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। पछिल्लो समय गण्डकी प्रज्ञा–प्रतिष्ठानले आफ्नो उद्देश्यअनुरूप विभिन्न रचनात्मक तथा अनुसन्धानमूलक कार्यको थालनी गरेको उल्लेख गर्दै उनले प्रतिष्ठानका गतिविधिको प्रशंसा गरे।

यस्ता अनुसन्धान तथा अभिलेखीकरणसम्बन्धी कार्यले गण्डकी प्रदेशको कला, साहित्य, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

कार्यक्रमबारे गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शङ्कर विरही गुरुङले जानकारी गराउनुभएको थियो। कार्यक्रममा प्रा. डा. ज्ञानबहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संयोजन तथा सञ्चालन प्राज्ञ पवित्रा घिमिरेले गरेका थिए । गोष्ठीमा विभिन्न क्याम्पसका प्राध्यापक, अनुसन्धानकर्ता, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो। गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेको अध्यक्षतामा  कार्यक्रम सम्पन्न हो । 

गोष्ठीले गण्डकी प्रदेशमा रहेका विविध सांस्कृतिक सम्पदाको व्यवस्थित अभिलेखीकरण, संरक्षण तथा अध्ययनका लागि मानचित्रको प्रयोगलाई थप प्रभावकारी बनाउने आवश्यकता औँल्याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0