पोखरा । साहित्यकार सूर्य खड्का ‘बिखर्ची’को नयाँ कृति ‘भोटेकोसीको कहर’ पोखरामा लोकार्पण गरिएको छ। बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले कृतिको लोकार्पण गरेका हुन्।

गत भदौ १० गते रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई समेटेर बिखर्चीले उक्त काव्यकृति तयार पारेका हुन्। विनाशकारी बाढीको घटनापछि एक महिना नपुग्दै उनले कृति पाठकमाझ ल्याएका हुन्। कृति १० दिनमै तयार पारिएको जनाइएको छ।

कृतिको समीक्षा गर्दै रामबहादुर बानियाँले यति छोटो समयमा एउटा कृति तयार पार्नु चानचुने विषय नभएको बताए। उनले ८‘भोटेकोसीको कहर’८मा समेटिएका विषयवस्तु, घटनाक्रम र मानवीय संवेदनालाई मिहिन ढंगले समीक्षा गरेका थिए।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले साहित्यकार बिखर्चीको लामो साहित्यिक यात्रा र नयाँ कृतिका विषयमा धारणा राखे। पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष लक्ष्मण थापाले पनि साहित्यकार बिखर्चीको साहित्यिक योगदान तथा कृतिका विषयमा चर्चा गरे।

गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपतिसमेत रहेका बिखर्चीको ‘भोटेकोसीको कहर’ ६३औँ कृति हो। अपलाईहब एजुकेशनल नेटवर्कले प्रकाशन गरेको कृतिको लोकार्पण कार्यक्रमसमेत उसैले आयोजना गरेको हो।

७२ पृष्ठमा समेटिएको कृतिको मूल्य ३ सय रुपैयाँ तोकिएको छ। कृतिको आवरण रमेश श्रेष्ठले तयार पारेका हुन्।

कास्कीको रूपाकोट–४, भोर्लेमा जन्मिएका बिखर्चीले २०२५ सालदेखि साहित्यिक यात्रा सुरु गरेका हुन्। उनी २०७५ देखि २०७९ सम्म नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंको प्राज्ञ सभा सदस्यसमेत रहेका थिए। नेपाली साहित्यमा स्नातकोत्तर गरेका बिखर्चीको पहिलो प्रकाशित रचना ‘भानुभक्तप्रति कविता’ हो । यो २०३२ सालमा प्रकाशित भएको थियो। यसैगरी उनको पहिलो कृति वीरे र पातली खण्डकाव्य हो । यो २०३७ सालमा पहिलोपटक प्रकाशित भएको थियो ।

उनले एकै वर्षमा १० वटा कविता कृतिसमेत पाठकमाझ ल्याएका छन्। कार्यक्रममा साहित्यकार असफल गौतमले सञ्चालन गरेका थिए। सहभागी साहित्यप्रेमीहरूले बिखर्चीको साहित्यिक यात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गरेका थिए।

कृतिका सर्जक बिखर्चीले ‘भोटेकोसीको कहर’ विनाशको कथा मात्र नभई स्मृतिको संरक्षण, पीडाको अभिलेखन र मानवताको पुनर्जागरणको काव्यात्मक प्रयत्न भएको बताए। उनले यो खण्डकाव्य बाढीको घटनाको वर्णनमा मात्र सीमित नभई विपत्तिको आँखामा आँखा जुधाएर मानव पीडालाई शब्द दिने प्रयास भएको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0