पोखरा । एसोसिएसन अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल एसीएएन कास्कीको आयोजनामा छैठौं राष्ट्रिय एसीएएन फुटसल प्रतियोगिता–२०८३ पोखरामा हुने भएको छ। प्रतियोगिता आगामी असोज ९ र १० गते पोखरा–१३ स्थित खेलकुञ्ज एरिनामा आयोजना गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन असोज ९ गते बिहान ८ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम तय भएको छ। प्रतियोगितामा देशका विभिन्न स्थानबाट चार्टर्ड अकाउन्टेन्ट्स सीए प्रोफेसनल्स सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताबारे जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा एसीएएनका केन्द्रीय उपाध्यक्ष तथा प्रतियोगिता संयोजक अनिल लामिछाने, एसीएएन कास्कीका अध्यक्ष दीपक भुर्त्यालले प्रतियोगिताका विभिन्न पक्षबारे जानकारी दिएका थिए।

आयोजकका अनुसार प्रतियोगिता सीए प्रोफेसनल्सबीच खेलकुदमार्फत आपसी सम्बन्ध, मित्रता, सहकार्य तथा ‘फ्राटर्निटी स्पिरिट’ थप बलियो बनाउने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगितालाई केवल खेलकुद प्रतिस्पर्धाका रूपमा मात्र नभई पोखराको पर्यटन, आतिथ्य तथा खेलकुद संस्कृतिको प्रवर्द्धनसँग जोडेर अघि बढाइएको आयोजकको भनाइ छ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले १ लाख ५० हजार रुपैयाँ, द्वितीयले १ लाख रुपैयाँ र तृतीय हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई समेत नगद पुरस्कार तथा विभिन्न सम्मानको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकले प्रतियोगितालाई सामाजिक उत्तरदायित्वसँग समेत जोडेको छ। विपद्बाट प्रभावित सीए फ्राटर्निटीका सदस्यलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगितामा विजेता टोलीले प्राप्त गर्ने पुरस्कार रकमबाट समेत सहयोग गर्ने व्यवस्था गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

एसीएएन कास्कीले प्रतियोगितालाई सफल बनाउन केन्द्रीय, प्रदेश तथा जिल्ला समिति, सहभागी टोली, प्रायोजक, सञ्चारकर्मी, स्वयंसेवक तथा खेलप्रेमी सबैको महत्वपूर्ण भूमिका रहने जनाएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले प्रतियोगिता पर्यटकिय राजधानी पोखरामा प्रतियोगिता आयोजना हुनु सुखद कुरा भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0