पोखरा । गण्डकी प्रदेशका स्थानीय तहमा गरिबीको दरमा ठूलो असमानता रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालय र युनिसेफ नेपालको संयुक्त आयोजनामा बुधबार पोखरामा आयोजित कार्यक्रममा गरिबीको लघुक्षेत्र अनुमान तथा गरिबी र अपांगतासम्बन्धी अध्ययन प्रतिवेदनको नतिजा सार्वजनिक गरिएको हो ।
सार्वजनिक तथ्यांकअनुसार गण्डकीका स्थानीय तहमध्ये नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा गरिबीको दर सबैभन्दा उच्च ४२ दशमलव ६६ प्रतिशत रहेको छ । त्यहाँको जनसंख्या ६१ हजार ९१ रहेकोमा गरिबीमा रहेका जनसंख्या २६ हजार ६४ रहेको तथ्यांकमा उल्लेख छ ।
उच्च गरिबी दर भएका स्थानीय तहमध्ये बागलुङको जैमिनी नगरपालिकामा २८ दशमलव ४७ प्रतिशत, ढोरपाटन नगरपालिकामा २४ दशमलव ७७ प्रतिशत, निसीखोला गाउँपालिकामा २३ दशमलव ३९ प्रतिशत र गल्कोट नगरपालिकामा २३ दशमलव २६ प्रतिशत रहेको छ ।
त्यस्तै, गोरखाको गण्डकी गाउँपालिकामा २२ दशमलव ०१ प्रतिशत, कास्कीको मादी गाउँपालिकामा २१ दशमलव ६३ प्रतिशत, स्याङ्जाको चापाकोट नगरपालिकामा २० दशमलव ४४ प्रतिशत, कालीगण्डकी गाउँपालिकामा १९ दशमलव ०९ प्रतिशत तथा म्याग्दीको धवलागिरि गाउँपालिकामा १९दशमलव १४ प्रतिशत गरिबी दर रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।
यसको विपरीत न्यून गरिबी दर भएका स्थानीय तहमध्ये मुस्ताङको घरपझोङ गाउँपालिकामा १ दशमलव १६ प्रतिशत रहेको छ । त्यस्तै गोरखाको शहीद लखन गाउँपालिकामा २दशमलव ७६ प्रतिशत, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३ दशमलव ९९ प्रतिशत, मनाङको नार्पा गाउँपालिकामा ४ दशमलव १५ प्रतिशत, तनहुँको बन्दीपुर गाउँपालिकामा ४ दशमलव १७ प्रतिशत गरिबी दर रहेको छ ।
मनाङको चामे गाउँपालिका, स्याङ्जाको फेदीखोला गाउँपालिका, तनहुँको आँबुखैरेनी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पनि न्यून गरिबी दर भएका स्थानीय तहको सूचीमा छन् ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य सचिव रमेश अर्यालले विगतमा आवश्यक तथ्यांक उपलब्ध नहुँदा विभिन्न क्षेत्रमा समस्या हुने गरेकोमा अहिले तथ्यांक प्रणालीमा सुधार हुँदै गएको बताए । उपलब्ध तथ्यांकको समुचित प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा शरदकुमार शर्माले तथ्यांक प्रणाली विकासका लागि चारवटा प्रमुख अंग हुने उल्लेख गरे ।
कार्यालय कास्कीका प्रमुख तथा समन्वय अधिकारी नन्दलाल सापकोटाले तथ्यांक संकलन र उत्पादनमा तीनवटा पक्ष जिम्मेवार रहने बताए ।
कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक शिव श्रेष्ठले गरिबीको लघुक्षेत्र अनुमान र अपांगता सम्बन्धि अध्ययनको विषयमा प्रस्तुती राखेका हुन् भन् निर्देशक कपिलराज जोशीले स्वागत गरेको कार्यक्रम कुल प्रकाश न्यौपानेले सञ्चालन गरेका थिए ।
















