पोखरा । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले आफ्नो १५औँ स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। सोमबार साइमन पार्टी प्यालेसमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ का इमिडिएट पास्ट मल्टिपल काउन्सिल चियरपर्सन मिलन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले १५ वर्षको अवधिमा लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले देखाएको सक्रियताको प्रशंसा गरिन्। क्लबले डिष्ट्रिकमा महत्वपूर्ण योगदान पुर्याउदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ सक्रिय भएर सामाजिक सेवाका क्षेत्रमा काम गर्न आग्रह गरिन्। उनले क्लबको स्थापना दिवसको शुभकामनासमेत व्यक्त गरिन्।
लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष शान्ति सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा क्लब एक्स्टेन्सन चियरपर्सन राजेन्द्रबहादुर कार्की विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे नेपालका कोषाध्यक्ष पुरुषोत्तमप्रसाद पराजुली, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, पूर्वअध्यक्ष बसन्त गिरी, डिष्ट्रिक ३२५ जे नेपालका चिफ एडभाइजर सन्तोष घिमिरे, रिजन चियरपर्सन दामोदर बराल तथा सिर्जना चौतारीले स्पोन्सर गरेको नयाँ क्लब लायन्स क्लब अफ पोखरा सिर्जनशील चौतारीका संस्थापक अध्यक्ष इन्द्रप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

क्लबका प्रथम उपाध्यक्ष रमेश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद आचार्यले गरेका थिए। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा तीज फेलोसिप कार्यक्रमसमेत आयोजना गरिएको थियो।
सो अवसरमा क्लब अध्यक्ष सिग्देलले आगामी भदौ २० गते पदस्थापना कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन्। कार्यक्रमको तयारी तीव्र पारिएको बताउँदै उनले नयाँ क्लबसमेत गरी कुल नौवटा क्लबको सहभागिता रहने जानकारी दिइन्।
सिग्देलले क्लबले वर्षभरि विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रममार्फत आफ्नो सक्रियता बढाउने बताइन्। १५ वर्षअघि स्थापना भएको लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीमा हाल ५१ जना सदस्य रहेका छन्। क्लबको प्रायोजनमा विभिन्न अन्य लायन्स क्लबसमेत स्थापना भएको जनाइएको छ। स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष बालकृष्ण बराललाई दोसल्ला र सम्मानपत्र सहित सम्मान अर्पण गरियो ।

















