पोखरा । पोखराको जेठो निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा निर्वाचनको माहोल तातिएको छ। संघको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी अघि बढाएका छन्। वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य र पूर्वमहासचिव अर्जुन पोखरेल पनि प्यानलभन्दा बाहिर रहेर अध्यक्ष पदको प्रतिस्पर्धामा छन्।

यसपटक विभिन्न पदमा हुने प्रतिस्पर्धामध्ये उद्योगतर्फको उपाध्यक्ष पदमा ललितबहादुर कुँवर र सौगात थापाबीचको प्रतिस्पर्धा विशेष चासोको विषय बनेको छ। दुवै जना संघको वर्तमान कार्यसमितिका सदस्य हुन्। उनीहरूले यसअघि पनि संघका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

कुँवर वर्तमान कार्यसमितिमा निर्वाचित सदस्य हुन्। अघिल्लो कार्यकालमा उनी सांस्कृतिक उपसमितिलगायतका जिम्मेवारीमा थिए। वर्तमान कार्यकालमा भने उनले दुई पटक संघको मेलाको सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी सम्हालेका छन्। मेलाका लागि सहयोग जुटाउने तथा विभिन्न स्थानमा पुगेर समन्वय गर्ने काममा उनी सक्रिय रहेको संघभित्र चर्चा छ।

थापा पनि वर्तमान कार्यसमितिका निर्वाचित सदस्य हुन्। यसअघि उनी मनोनित सदस्यका रूपमा संघमा आबद्ध थिए। व्यवसायसँगै संघका गतिविधिमा उनको सहभागिता रहेको छ।

व्यवसाय र सामाजिक क्षेत्रमा दुवैको सक्रियता

कुँवर होटल, कृषि तथा रियलस्टेटलगायतका व्यवसायमा संलग्न छन्। होटल लुना, लालुपाते कृषि फर्म र आभाष ट्रेडर्सलगायतका व्यवसायिक प्रतिष्ठानसँग उनी जोडिएका छन्। विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा समेत उनको आबद्धता रहेको छ।

थापा पनि हस्पिटालिटी, पर्यटन र रियलस्टेट क्षेत्रमा सक्रिय छन्। होटल बगैँचा, अंशुभरा ग्रुप र पोखरा ट्रेडमललगायतका व्यवसायिक प्रतिष्ठानसँग उनको सम्बन्ध छ। उनी युवा उद्यमी मञ्चलगायत विभिन्न संस्थामा आबद्ध छन्।

दुवै उम्मेदवारको व्यवसायिक पृष्ठभूमि र सामाजिक आबद्धता हेर्दा उनीहरूबीच धेरै समानता देखिन्छ। दुवै क्षेत्री समुदायका हुन् भने राजनीतिक रूपमा पनि नेपाली कांग्रेससँग निकट मानिन्छन्।

पारिवारिक पृष्ठभूमिले थापालाई साथ

सौगात थापा नेपाली कांग्रेसका नेता तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिन्दुकुमार थापाका छोरा हुन्। बिन्दुकुमार थापा संघको अध्यक्ष रहिसकेका छन् भने नेपाली कांग्रेसबाट गण्डकी प्रदेशसभा सदस्य तथा मन्त्रीसमेत भइसकेका छन्। अर्कोतर्फ, ललित कुँवरले वडा तहको संगठन तथा पार्टीका विभिन्न भ्रातृ संस्थामा काम गर्दै राजनीतिक तथा सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्।

अघिल्लो निर्वाचनमा कुँवर अगाडि

अघिल्लो महाधिवेशनको नतिजा हेर्दा कुँवर थापाभन्दा केही मतले अगाडि थिए। कुल २ हजार २५१ मतमध्ये कुँवरले १ हजार ५३९ मत प्राप्त गरी सदस्य पदमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए। थापाले १ हजार ४९४ मत प्राप्त गरेका थिए। अर्थात् कुँवरले थापालाई ४५ मतले पछाडि पारेका थिए।

त्यस निर्वाचनमा देबेन्सन प्रजु १ हजार ५१६ मतसहित दोस्रो भएका थिए। १० जना सदस्यका लागि भएको निर्वाचनमा सबैभन्दा कम मत १ हजार ३०० प्राप्त गर्ने यादवप्रसाद पोखरेल पनि निर्वाचित भएका थिए।

तर यसपटकको अवस्था फरक छ। अघिल्लो निर्वाचनमा एउटै समूहका धेरै उम्मेदवारबीच सदस्य पदका लागि प्रतिस्पर्धा थियो भने अहिले कुँवर र थापाबीच उद्योग उपाध्यक्ष पदमा सीधा प्रतिस्पर्धा हुँदैछ। त्यसैले अघिल्लो निर्वाचनको मत परिणामभन्दा पनि उनीहरूको कार्यसम्पादन र संघमा गरेको योगदान निर्णायक बन्न सक्ने देखिन्छ।

उपस्थिति र सक्रियताको तथ्यांकले के भन्छ

पोखरा उद्योग वाणिज्य संघले केही दिन अगाडि सार्वजनिक गरेको विवरणमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको बैठक र विभिन्न कार्यक्रममा भएको सहभागिता उल्लेख गरिएको छ।

उक्त विवरणअनुसार दुई वर्षे कार्यकालमा भएका ३१ वटा कार्यसमिति बैठकमध्ये ललित कुँवर २५ वटा बैठकमा सहभागी भएका छन्। यो करिब ८० प्रतिशत उपस्थिति हो। सौगात थापाको भने ५ वटा बैठकमा मात्र सहभागिता देखिन्छ, जुन करिब १६ प्रतिशत हो।

त्यसैगरी संघले सञ्चालन गरेका ९५ वटा विभिन्न कार्यक्रममध्ये कुँवर ४५ वटा कार्यक्रममा सहभागी भएको विवरणमा उल्लेख छ। यो करिब ४७ प्रतिशत सहभागिता हो। थापाको सहभागिता भने ४ वटा कार्यक्रममा रहेको देखिन्छ, जुन ५ प्रतिशतभन्दा कम हो।

यही तथ्यांकलाई आधार बनाएर मतदाताले उम्मेदवारको संस्थागत सक्रियता र संघका गतिविधिमा दिएको समयको मूल्यांकन गर्न सक्ने देखिन्छ। यद्यपि निर्वाचनमा उम्मेदवारको व्यक्तिगत सम्बन्ध, व्यवसायिक पहिचान, प्यानलको प्रभाव, नेतृत्वसँगको सम्बन्ध र मतदातासँगको पहुँच पनि महत्वपूर्ण हुने गर्छ।

कसले मार्ला बाजी

कुँवर र थापा दुवै संघको कार्यसमितिमा काम गरिसकेका युवा व्यवसायी हुन्। अघिल्लो निर्वाचनमा कुँवरले थापालाई पछाडि पारे पनि यसपटकको प्रतिस्पर्धा फरक परिस्थितिमा हुँदैछ।

कुँवरको पक्षमा संघका गतिविधिमा तुलनात्मक रूपमा बढी उपस्थिति र सक्रियताको तथ्यांक देखिन्छ। अर्कोतर्फ, थापाको पक्षमा व्यवसायिक तथा सामाजिक सम्बन्धसँगै संघका पूर्वअध्यक्ष बिन्दुकुमार थापाको राजनीतिक तथा संस्थागत पृष्ठभूमि महत्वपूर्ण हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0