पोखरा । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजना तथा पोखरा कलेज अफ म्यानेजमेन्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत यु–१८ ब्वाइज सिङ्गलको उपाधि शाश्वत बज्राचार्यले जितेका छन् । सोमबार पोखरा रङ्गशालाभित्र टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दिप विकलाई ६–१,६–१ को सहज सेटमा पराजित गर्दै शाश्वतले सो उपाधि जितेका हुन् ।

त्यस्तै, यु–१४ ब्वाइज सिङ्गल उपाधि आर्यषराज पौडेलले जितेका छन् । उनले अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गरेका थिए । यस्तै यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र बिक च्याम्पियन बने । फाइनलमा उनले आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गरेका थिए । गल्सतर्फ यु–१२यु–१० दुवैतर्फको उपाधि निम्ती कुँवरले जितेकी छन् । यू–८ गल्स सिङ्गल्समा वाणी राजभण्डारी प्रथम तथा निवेदी सुनार द्वितीय भइन् । यू–१२ ब्वाइज सिंगल्समा सहंश बस्नेतले इभान भट्टराईलाई पराजित गर्दै प्रथम हुन सफल भए । यू–९ ब्वाइज सिंगल्समा सवज्ञ जङ्ग खत्री प्रथम तथा सोनम टी घले द्वितीय भए ।

विजयी खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि पोखरा कलेज अफ म्यानेजमेन्टका प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस सङ्घका पूर्व अध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतले एक समारोहका बिच आकर्षक गिफ्ट हेम्पर सहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गरिन् । सो अवसरमा कलेज प्राचार्य श्रेष्ठले पोखरा कलेज अफ म्यानेजमेन्टले विगत २५ वर्ष देखि व्यवस्थापनको क्षेत्रका पठनपाठनसँगै युवा लक्षित विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिइन् । कलेजले खेलकुदको पाटोलाई पनि महत्व दिँदै आएको उनको भनाई थियो ।

आयोजक समितिका अध्यक्ष समेत रहेका कलेजका अध्यक्ष बिनोद कायस्थले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबै सहयोगहीरुलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताए । आयोजक सङ्घका महासचिव नवीन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0