पोखरा । गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसर पारेर प्रदेशस्तरीय ‘खुला युवा कविता प्रतियोगिता’ आयोजना गर्ने भएको छ। १६ देखि ४० वर्ष उमेर समूहका गण्डकी प्रदेशका युवालाई लक्षित गर्दै मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गरी प्रतियोगिताका लागि कविता आह्वान गरेको हो।

मन्त्रालयका अनुसार समाज र राष्ट्र निर्माणमा युवाको भूमिका, युवा आकांक्षा, सिर्जनशीलता तथा समसामयिक विषयलाई साहित्यिक अभिव्यक्तिमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। संयुक्त राष्ट्रसंघले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसका लागि तय गरेको ‘Different Contexts, Common Aspirations’ (भिन्न परिवेश, साझा आकांक्षा) भन्ने मूल नारासँग जोडेर प्रतियोगिता सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रतियोगितामा गण्डकी प्रदेशका १६ देखि ४० वर्ष उमेर समूहका युवाले मात्र सहभागिता जनाउन सक्नेछन्। कविता युवासँग सम्बन्धित विषयवस्तुमा आधारित हुनुपर्ने र तोकिएको विषयक्षेत्रभन्दा बाहिरका रचना मूल्याङ्कनमा समावेश नगरिने सूचनामा उल्लेख छ।

इच्छुक प्रतियोगीले आफ्नो कविता  साउन २१ गते साँझ ५ बजेसम्म मन्त्रालयमा स्वयं उपस्थित भई वा इमेल मार्फत पठाउन सक्नेछन्। कवितासँग शीर्षक, सहभागीको नाम, थर, जन्ममिति, उमेर, ठेगाना, सम्पर्क नम्बर लगायतका विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

मन्त्रालयले प्राप्त कविताको प्रारम्भिक मूल्याङ्कनपछि  साउन २५ गते छनोट भएका प्रतियोगीको नामावली सार्वजनिक गर्ने जनाएको छ। छनोटमा परेका प्रतियोगीले साउन २७ गते पोखरा–१, बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा आयोजना हुने कविता वाचन प्रतियोगितामा सहभागी हुनुपर्नेछ।

प्रतियोगितामा उत्कृष्ट पाँच प्रतियोगीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ। जसअनुसार प्रथम  हुनेले रु. १५,००० र प्रमाणपत्र , द्वितीय हुनेले रु. १२,००० र प्रमाणपत्र , तृतीय हुनेले रु. १०,००० र प्रमाणपत्र तथा सान्त्वना (दुई जना) ले जनही रु. ५,००० र प्रमाणपत्र  प्राप्त गर्नेछन् ।

मन्त्रालयले प्रतियोगितासम्बन्धी थप विषय गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको समन्वयमा आवश्यक निर्णय गरी कार्यान्वयन गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0