पोखरा । कास्की आदर्श समाज बहराइन ले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्की जिल्लाको मादी गाउँपालिका–१२, लिपेयानीस्थित हिमालय आधारभूत विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री हस्तान्तरण गरेको छ। कस्केलीको एकता आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता” भन्ने मूल नारालाई आत्मसात् गर्दै सन् २०१९ जुलाई ५ मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ ।

यसैक्रममा शुक्रबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय पोशाक (ट्र्याकसुट र टी–सर्ट), जुत्ता तथा मोजा वितरण गरिएको हो । आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले गरिएको यस सहयोगले उनीहरूको शैक्षिक यात्रामा सकारात्मक टेवा पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रम कास्की आदर्श समाज नेपालको सहजीकरण तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सन्तोष तिमिल्सिना, सचिव पूजा शाह ठकुरी, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, वरिष्ठ उपाध्यक्ष पूजा गिरी, महासचिव हरि बहादुर ढकाल, कोषाध्यक्ष शिव गिरी लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक हिमाल पौडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षा क्षेत्रमा गरिने लगानी नै समाज विकासको आधार भएको उल्लेख गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका थिए। विद्यालय परिवारले पनि विदेशमा रहेर आफ्नो जन्मथलोका विद्यार्थीहरूको भविष्यप्रति देखाएको चासो र सहयोगको उच्च प्रशंसा गर्दै कास्की आदर्श समाज बहराइनप्रति आभार व्यक्त गरेको थियो।

कास्की आदर्श समाज बहराइनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगदाता, नेपालस्थित पदाधिकारी, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, विद्यालय परिवार तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

समाजले आगामी दिनहरूमा पनि शिक्षा, समाजसेवा तथा मानवीय सेवासम्बन्धी विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै हिमालय आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ । समाजका अनुसार यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले प्रवासमा रहेका नेपाली र मातृभूमिबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै शिक्षा र सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0