पोखरा । पोखरा फोटो ग्राफर संघले आफ्नो ४५ औँ स्थापना दिवसको अवसरमा शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ ।
संघका अध्यक्ष भक्त तामाङले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का कारण रगतको अभाव हुने अवस्थालाई मध्यनजर गर्दै संघले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रतिकूल मौसमका बाबजुद सहभागी र सहयोगी संस्थाको सक्रियताका कारण ४६ युनिट रगत संकलन गर्न सफल भएको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराकी स्टाफ नर्स यमुना केसीले हाल पोखरामा विशेषगरी एबी पोजेटिभ रगतको अभाव रहेको जानकारी दिइन्। उनका अनुसार पोखरामा दैनिक करिब १२० युनिट रगत आवश्यक पर्ने भए पनि संकलन पर्याप्त हुन सकेको छैन। त्यसैले नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याइन्। केसीले १७ वर्षदेखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिले वर्षमा चार पटकसम्म रक्तदान गर्न सक्ने भएकाले सबैलाई मानव सेवाका लागि रक्तदान गर्न आग्रह गरिन्।
रक्तदान कार्यक्रम कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल, महासंघ गण्डकीका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी, संघका पूर्वअध्यक्षहरू गणेश छवी, जयन्द्रराज भण्डारी, घनश्याम पौडेल, रविनाथ दाहाल, पूर्वसचिव देवानन्द पोखरेल, आजीवन सदस्य सुकबहादुर घले, ९३ औँ पटक रक्तदान गरेका नियमित रक्तदाता जितेन्द्रमान शाक्य, महिला संयोजक तीर्थ श्रेष्ठ, पूर्व महिला संयोजक इन्दिरा शर्मा तथा पूर्णकुमारी थापालगायतले रक्तदानको महत्व र संघको स्थापना दिवसबारे धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संघका सचिव लक्ष्मीपति पौडेलले गरेका थिए।
कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लायन्स क्लब अफ पोखरा दर्पणले सहयोगी संस्थाका रूपमा सहकार्य गरेका थिए ।
पोखरा फोटोग्राफी अवार्ड
स्थापना दिवसकै अवसरमा संघले पाँचौं संस्करणको पोखरा फोटोग्राफी अवार्डको पनि घोषणा गरेको छ। नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आगामी भदौ ३ गते विश्व फोटोग्राफी दिवसको अवसर पारेर अवार्ड वितरण गरिने जानकारी दिइयो।
अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड, फोटोग्राफर अफ द इयर, युथ इनर्जेटिक फोटोग्राफी अवार्ड, डेली लाइफ फोटोग्राफी अवार्ड, कल्चर एन्ड टुरिजम फोटोग्राफी अवार्ड, इन्भाइरोन्मेन्ट एन्ड नेचर फोटोग्राफी अवार्ड, वेडिङ फोटोग्राफी अवार्ड, पोर्ट्रेट फोटोग्राफी अवार्ड तथा नारी फोटोग्राफी अवार्ड प्रदान गरिनेछ।
संघका अध्यक्ष भक्त तामाङका अनुसार संघमा हाल १९८ जना सदस्य आबद्ध रहेका छन् भने दुई सयभन्दा बढी फोटोग्राफर फ्रिलान्सरका रूपमा सक्रिय छन्। ती फोटोग्राफरलाई पनि संघको दायरामा ल्याउने प्रयास भइरहेको उनले बताए।
उनले पछिल्लो समय फोटोग्राफी व्यवसायलाई रोजगारी र उद्यमशीलताको आकर्षक क्षेत्रका रूपमा हेर्न थालिएको उल्लेख गर्दै सामान्य फोटो खिचेर पनि आम्दानी गर्ने अवसर बढ्दै गएको बताए।
स्थापना दिवसकै अवसरमा शनिबार संघका पूर्वअध्यक्षहरूको पहलमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । जहाँ संघको विगत, वर्तमान र भावी योजनाबारे छलफल भएको बताइएको छ ।
















