पोखरा । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको समन्वयमा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

रेडक्रस कास्की शाखाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको सभापतित्व तथा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको प्रमुख सहभागितामा सम्पन्न कार्यक्रममा विपद् व्यवस्थापनका लागि तथ्यमा आधारित, समयसापेक्ष र प्रभावकारी योजना निर्माणको आवश्यकतामाथि जोड दिइएको थियो।

कार्यक्रममा प्रस्तुतिकरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी बरालले विपद्का घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी र प्रभावकारी प्रतिकार्य योजना अपरिहार्य रहेको बताए। उनले प्रकोप नक्साङ्कन, जोखिम स्तरीकरण, सरोकारवाला विश्लेषण तथा तथ्याङ्क सङ्कलनका आधारमा यथार्थपरक योजना तयार गर्नुपर्ने आवश्यकता औँल्याए। स्थानीय तह र सम्बन्धित निकायबाट प्राप्त तथ्य र अनुभवलाई योजनामा समेटेर कार्यान्वयनमुखी दस्तावेज तयार गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका विपद् प्रमुख तथा सूचना अधिकारी नवराज भण्डारीले शाखाले चालु वर्षमा सञ्चालन गरेका विपद् व्यवस्थापनसम्बन्धी गतिविधिको विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणअनुसार रेडक्रस कास्कीले हालसम्म १ सय ३९ प्रभावित परिवारलाई राहत वितरण गरेको छ। त्यसैगरी जिल्लामा ८ सय जना प्राथमिक उपचार तालिमप्राप्त स्वयंसेवक, ९ जना जिल्ला विपद् प्रतिकार्य टोलीका सदस्य तथा ९५ जना सामुदायिक विपद् प्रतिकार्य स्वयंसेवक सक्रिय रहेको जानकारी दिइयो।

कार्यक्रममा शाखाको विपद् व्यवस्थापन क्षमता विश्लेषणसमेत गरिएको थियो। छलफलका क्रममा जिल्लामा रहेका स्रोत–साधन, जनशक्ति, सम्भावित जोखिम तथा विपद् प्रतिकार्य क्षमताको समीक्षा गर्दै आगामी योजना निर्माणका लागि आवश्यक सुझावहरू संकलन गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मोहनसिंह खड्काले स्वागत मन्तव्य व्यक्त गर्दै कास्की जिल्लाको विपद् जोखिम अवस्था, तयारी र योजनासँग सम्बन्धित विषयमा आफ्नो धारणा राखेका थिए। उनले सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी बल, कास्की जिल्लाका विभिन्न पालिकाका विपद् फोकल पर्सन तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको विपद् व्यवस्थापन समितिका सदस्यहरू सहित ३५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले गरेका थिए। सहभागीहरूले छलफलबाट प्राप्त सुझावहरूलाई समेटेर जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अझ प्रभावकारी, तथ्यपरक तथा कार्यान्वयनयोग्य बनाइने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0