पोखरा । सरकारलाई सही बाटोमा हिँडाउन पोखरामा खबरदारी सभा आयोजना गरिएको छ । परिवर्तनका लागि नयाँ सोच र खोज अभियानले शनिबार पोखराको अमरसिंहचोकमा खबरदारी सभा आयोजना गरेको हो । उसले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न दबाब दिन नागरिकस्तरबाट खबरदारी आवश्यक रहेको जनाएको छ । सभामा बोल्ने वक्ताहरूले सरकारका पछिल्ला गतिविधिले सकारात्मक सन्देश दिन नसकेको भन्दै जनताको आवाज सशक्त रूपमा उठाउनुपर्ने धारणा राखे । उनीहरूले लोकतन्त्रलाई प्रभावकारी बनाउन नागरिकको निरन्तर खबरदारी आवश्यक रहेको बताए ।
अभियानका केन्द्रीय संयोजक कृष्ण बजगाईंले नयाँ सोच, नयाँ खोज र जिम्मेवार नागरिक सहभागितामार्फत देशलाई सही दिशामा अघि बढाउन अभियान सञ्चालन गरिएको बताए । उनले २०४७ सालयता पटक–पटक राजनीतिक परिवर्तन भए पनि शासनशैली, सोच र कार्यशैलीमा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गर्दै अब सत्ता परिवर्तनभन्दा पनि सोच, नीति र कार्यप्रणाली परिवर्तन आवश्यक रहेको धारणा राखे ।
उनले अभियानले देशभरि प्रदेश तथा जिल्ला–जिल्लामा पुगेर विगतदेखि वर्तमानसम्मका राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे नागरिकलाई जानकारी गराउँदै जनचेतना फैलाउने काम गरिरहेको बताए । सम्भावनाले भरिपूर्ण पोखरामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलस्रोत, सूचना प्रविधि र उद्यमशीलताका क्षेत्रमा प्रशस्त अवसर रहेकाले तिनको सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
अभियानले वितरण गरेको पर्चामा पुराना सोच र असफल अभ्यासबाट देश अघि बढ्न नसक्ने उल्लेख गर्दै भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी, युवापलायन, कमजोर सुशासन तथा राजनीतिक अस्थिरता देशका प्रमुख चुनौती रहेको औँल्याइएको छ । अब नागरिक जागरण, सरकारलाई जवाफदेही बनाउने दबाब, नयाँ नीति र नेतृत्वको खोज तथा शान्तिपूर्ण नागरिक सहभागितामार्फत परिवर्तन सम्भव हुने अभियानको निष्कर्ष छ ।
गण्डकी प्रदेश संयोजक डा. निरञ्जन कोइरालाले समाजमा बढिरहेका विकृति र विसंगतिप्रति सबैलाई झकझक्याउन खबरदारी आवश्यक भएको बताए। नेपालमा रहेको जैविक विविधता, प्राकृतिक स्रोत र स्थानीय सम्भावनाको भरपुर उपयोग गर्नुपर्नेमा उनले जोड दिए। पोखरामा प्रशस्त अवसर हुँदाहुँदै पनि युवाको विदेशिने क्रम बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले विश्वविद्यालय थप्दैमा मात्र शैक्षिक उपलब्धि हासिल नहुने, गुणस्तरीय शिक्षा, अनुसन्धान र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए।
कार्यक्रममा अभियन्ताहरू मिलन अधिकारी, गम्भीर यात्री, गणेश अधिकारी, रमेश भारतीलगायतले पनि खबरदारी सभाको आवश्यकता, सुशासन, नागरिक सहभागिता र देशको समृद्धिका लागि नयाँ सोच र खोजको अभियानलाई सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।















