पोखरा । कास्कीमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध सञ्चालन गरिएको सप्ताहव्यापी अभियान शुक्रबार प्रभातफेरी तथा समापन समारोहसँगै सम्पन्न भएको छ। अभियानका क्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा विगत तीन वर्षयताकै सबैभन्दा धेरै लागुऔषध बरामद भएको छ भने लागुऔषधसम्बन्धी मुद्दा, पक्राउ र नियन्त्रणका घटना पनि उल्लेख्य रूपमा बढेका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा पोखरामा क्रियाशील सरकारी र गैरसरकारी संस्थाको समन्वयमा सञ्चालन गरिएको अभियान अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा “लागुऔषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ” भन्ने नाराका साथ मनाइएको हो।

अभियानको समापनका अवसरमा मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृह पुगेको थियो । त्यसपछि आयोजित समापन समारोहलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक रूपमा अभियान समाप्त भए पनि लागुऔषधविरुद्धको प्रशासनिक तथा सामाजिक अभियान निरन्तर जारी रहने स्पष्ट पारे।

उनले लागुऔषध नियन्त्रणका लागि युवालाई कुलतमा फस्न नदिन सामाजिक सचेतना अभिवृद्धि, अवैध कारोबारमाथि प्रभावकारी नियन्त्रण र कानुनी कारबाही तथा कुलतमा परिसकेकालाई पुनःस्थापना केन्द्रमार्फत समाजमा पुनर्स्थापित गर्ने कार्यलाई समान रूपमा प्राथमिकता दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी गुरुङले लागुऔषध नियन्त्रण केवल सुरक्षा निकायको जिम्मेवारी नभई राज्यका निकाय, पुनःस्थापना केन्द्र, मानवअधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा आमनागरिकबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले प्रत्येक व्यक्ति र परिवार स्वयं सचेत हुनुपर्नेमा जोड दिँदै अभियान सफल बनाउन योगदान पुर्‍याउने सुरक्षा निकाय, सञ्चारमाध्यम, पुनःस्थापना केन्द्र तथा विभिन्न सङ्घसंस्थाप्रति धन्यवाद व्यक्त गरे। साथै उनले कास्की प्रशासनले आगामी दिनमा पनि लागुऔषधविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जिल्लाको पछिल्लो अवस्थाबारे तथ्याङ्क प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा हालसम्म लागुऔषधसम्बन्धी १ सय २० वटा मुद्दा दर्ता भएको जानकारी दिए। यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २५ वटा बढी रहेको उनले बताए।

उनका अनुसार यस अवधिमा नौ जना विदेशी नागरिकसहित १८८ जना पक्राउ परेका छन्। साथै विगत तीन वर्षको अभिलेखअनुसार चालु आर्थिक वर्षमा कास्कीमा सबैभन्दा बढी लागुऔषध बरामद भएको प्रहरीको तथ्याङ्कले देखाएको उनले बताए।

एसपी कार्कीले सप्ताहव्यापी अभियानकै अवधिमा जिल्लाका विभिन्न नाका तथा चेकिङ प्वाइन्टबाट १९ जनालाई नियन्त्रणमा लिई तीन वटा मुद्दा दर्ता गरिएको जानकारी दिए। उनले सार्वजनिक सवारीसाधनका केही चालकसमेत लागुऔषध सेवन गरेर सवारी चलाइरहेको भेटिएको भन्दै यसलाई अत्यन्त गम्भीर र चिन्ताजनक प्रवृत्तिका रूपमा उल्लेख गरे।

कार्यक्रममा बोल्दै रिकभरी नेपाल कास्कीका शिव न्यौपानेले जिल्लामा लागुऔषधको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको बताए। उनले नियन्त्रणका लागि सरकारी तथा सामाजिक क्षेत्रबाट चालिएका प्रयास सकारात्मक भए पनि अझ प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले लागुऔषधको कुलतले डाक्टर, इन्जिनियर, वकिलजस्ता पेशामा जाने तयारी गरिरहेका शिक्षित युवाको भविष्यसमेत बर्बाद पारिरहेको उल्लेख गर्दै परिवारको एक सदस्य कुलतमा फस्दा त्यसको असर सिङ्गो परिवारले भोग्नुपर्ने अवस्था सिर्जना हुने बताए।

कार्यक्रम सञ्चालन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले लागुऔषध नियन्त्रणका लागि प्रहरीको कारबाही मात्र पर्याप्त नहुने बताउँदै सामाजिक चेतना विस्तार, कानुनको प्रभावकारी कार्यान्वयन र सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिबन्धित लागुऔषधजन्य औषधि बिक्रीवितरण गर्ने एक फार्मेसी सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी समेत दिए।

समापन कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारकर्मी, पोखरामा सञ्चालित पुनःस्थापना केन्द्रका प्रमुख तथा प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। अभियानका क्रममा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, समन्वय बैठक तथा प्रभातफेरीलगायतका गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0