पोखरा । पोखराका पत्रकार विजय नेपाललाई रोटरी जर्नाे अवार्ड प्रदान गरिएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा उनीसहित देशभरबाट सात जना पत्रकारलाई शुक्रबार काठमाडौमा आयोजित समारोहमा नगद ५१ हजारसहित सो अवार्ड प्रदान गरिएको हो ।
पाल्पाको रिब्दीकोट ७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल पोखरामा रही दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । आदर्श समाजका कार्यकारी सम्पादक उनी राजधानी दैनिकका संवाददाता हुन् ।
सोही समारोहमा काठमाडौंमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई १ लाख १ हजार राशिको यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । रोटरी जर्नाे अवार्ड प्राप्त गर्नेहरूमा गोरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथोकी, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सरोज ढुंगेल, काठमाडौंकी उर्वसी बस्न्यात र बाँकेकी रूपा गहतराज पनि छन् ।
समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डाइरेक्टर नोमिनी बासुदेव गोल्यान, रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पत्रकारलाई पुरस्कृत गरे । पत्रकारितामार्फत समाजमा सकारात्मक सिर्जना गर्ने पत्रकारलाई रोटरीले सन् २०११ देखि रोटरी जर्नाे अवार्ड प्रदान गर्दै आएको छ। रोटरीले सेवा गर्ने क्षेत्रलाई आधार मानेर विभिन्न विधामा देशभरीबाट अनलाइन आवेदन माग गरेकोमा छनोट समितिले उत्कृष्ट पत्रकारको छनोट गरेको रोटरी जर्नाे अवार्ड कमिटी अध्यक्ष सुरेश आचार्यले जानकारी दिए। फरक फरक विधामा ५० पत्रकार २६७ समाचार सामग्री प्रतिस्पर्धामा रहेको उनले बताए ।















