राजाराम पौडेल,पोखरा । गण्डकी प्रदेशमा पछिल्ला चार आर्थिक वर्षको कृषि तथ्यांकले मुख्य खाद्यान्न तथा परम्परागत बाली उत्पादनमा मिश्रित अवस्था देखाएको छ । धान, मकै, गहुँ, कोदो, फापर र जौ उत्पादनमा कतै वृद्धि भए पनि अधिकांश बालीको खेती क्षेत्रफल र उत्पादन क्रमशः घट्दो अवस्थामा रहेको तथ्यांकले देखाएको छ। गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको बजार, तथ्याङ्क तथा व्यवसाय प्रवर्द्धन महाशाखाले दिएको तथ्याङ्क अनुसार जिल्लागत रूपमा कास्की, तनहुँ, स्याङ्जा, बागलुङ र नवलपुर खाद्यान्न उत्पादनका मुख्य जिल्ला रहेका छन् । धान उत्पादनमा नवलपुर, कास्की र स्याङ्जा अगाडि रहेका छन् भने मकै उत्पादनमा तनहुँ, बागलुङ, स्याङ्जा र गोरखा प्रमुख छन्। कोदो उत्पादनमा कास्की, गोरखा र बागलुङ अगाडि छन्। हिमाली जिल्ला मुस्ताङ र मनाङ फापर तथा जौ उत्पादनका मुख्य क्षेत्रका रूपमा रहेका छन्।
खाद्यान्न उत्पादन वृद्धि तथा कृषकको आयआर्जन सुधार गर्न सञ्चालन गरिएको र ती कृषि कार्यक्रमबाट उल्लेखनीय उपलब्धि हासिल भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारअन्तर्गत कृषि मन्त्रालयले सञ्चालन गरेका मकै, धान, बीउ उत्पादन तथा माटो व्यवस्थापनसम्बन्धी कार्यक्रमबाट हजारौं कृषक लाभान्वित भएको मन्त्रालयको दावी गरिएपनि परिणाम सन्तोषजनक देखिदैन ।
मन्त्रालयका अनुसार ‘मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन आयोजना’ अन्तर्गत लक्ष्यभन्दा बढी क्षेत्रफलमा खेती विस्तार गरिएको छ। १५० हेक्टर लक्ष्य राखिएकोमा १८० हेक्टर क्षेत्रफलमा मकै खेती विस्तार हुँदा करिब ५५० मेट्रिक टन उत्पादन वृद्धि भएको छ। यस कार्यक्रममार्फत नौ जिल्लाका ११८ कृषक समूह लाभान्वित भएका छन्। कार्यक्रमबाट ७५० मेट्रिक टन खाद्यान्न मकै उत्पादन भई करिब दुई करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ।
त्यस्तै ‘खाद्यान्नबाली प्रवर्द्धन आयोजना’ अन्तर्गत नौ जिल्लामा कार्यक्रम सञ्चालन गरिएको थियो। २९५ हेक्टर क्षेत्रफलमा सञ्चालन गरिएको कार्यक्रमबाट १०५ कृषक समूहका पाँच हजार ७१६ जना कृषक लाभान्वित भएका छन्। धान, मकै, कोदो तथा उवा उत्पादन वृद्धि गर्न यस कार्यक्रमले टेवा पुर्याएको मन्त्रालयले जनाएको छ।
“बीउ उत्पादन प्रवर्द्धन आयोजना” अन्तर्गत म्याग्दी, मनाङ र मुस्ताङ बाहेकका आठ जिल्लामा धान, गहुँ, आलु, तरकारी तथा काँक्रो बीउ उत्पादन गरिएको छ। १२७ दशमलव ५ हेक्टर क्षेत्रफलमा धान तथा अन्य बालीको बीउ उत्पादन हुँदा १३८ कृषक समूह प्रत्यक्ष लाभान्वित भएका छन्।
यस्तै चैतेधान प्रवर्द्धन आयोजना अन्तर्गत गोरखा, तनहुँ र नवलपुरमा चैते धान खेती विस्तार गरिएको छ। चैते–५, चैते–४, हर्दिनाथ–१, हर्दिनाथ हाइब्रिड, ताइचुङ र स्थानीय जातका धान ९५० हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। उक्त कार्यक्रमबाट चार हजार ७५० मेट्रिक टन चैतेधान उत्पादन भई करिब १० करोड रुपैयाँ बराबरको कारोबार भएको मन्त्रालयले जनाएको छ। यसबाट ८३ कृषक समूहका चार हजार ८६९ जना कृषक लाभान्वित भएका छन्।
माटो परीक्षण तथा कृषि चुन वितरण कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लामा ३८४ दशमलव ३११ टन कृषि चुन वितरण गरिएको छ। कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्जा, पर्वत र म्याग्दीका करिब ४०० किसानलाई कृषि चुन वितरण गरिएको मन्त्रालयले जनाएको छ। विभिन्न शिविरमार्फत दुई हजारभन्दा बढी माटो नमूना परीक्षण गरिएको छ।
प्रदेश सरकारले खाद्यान्न उत्पादन वृद्धि, माटोको उर्वराशक्ति संरक्षण तथा कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने मन्त्रलायले जनाएको छ।
धान खेतीको क्षेत्रफल घट्दा उत्पादनमा उतारचढाव
गण्डकी प्रदेशमा पछिल्ला चार आर्थिक वर्षको तथ्यांकले धान खेती हुने क्षेत्रफल क्रमशः घट्दो अवस्थामा रहेको देखाएको छ। यद्यपि केही जिल्लामा उत्पादनमा सुधार देखिए पनि समग्र प्रदेशमा उत्पादन परिमाणमा उतारचढाव देखिएको हो।
आर्थिक वर्ष २०७८/७९ मा मुख्य सिजन र बसन्त सिजन गरी गण्डकी प्रदेशमा १ लाख १२ हजार २२७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। उक्त वर्ष ४ लाख ६ हजार ३३६ मेट्रिक टन धान उत्पादन भएको थियो।
त्यसपछि आर्थिक वर्ष २०७९/८० मा धान खेतीको क्षेत्रफल घटेर १ लाख ५ हजार २२४ हेक्टरमा सीमित भयो। सो वर्ष उत्पादन पनि घटेर ३ लाख ८५ हजार ४७० मेट्रिक टनमा पुगेको तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष २०८०/८१ मा भने उत्पादनमा सुधार देखिएको थियो। उक्त वर्ष १ लाख २ हजार १४७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ३ लाख ९३ हजार १६१ मेट्रिक टन उत्पादन भएको थियो।
तर आर्थिक वर्ष २०८१/८२ मा धान खेती हुने क्षेत्रफल फेरि घटेर ९७ हजार ९५९ हेक्टरमा झरेको छ। उत्पादन पनि घटेर ३ लाख ७९ हजार ३२ मेट्रिक टनमा सीमित भएको छ।
जिल्लागत रूपमा हेर्दा नवलपुर, कास्की, स्याङ्जा र तनहुँ धान उत्पादनका प्रमुख जिल्ला बनेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा कास्कीमा १६ हजार ५९० हेक्टर क्षेत्रफलमा धान खेती भई ६२ हजार ९८८ मेट्रिक टन उत्पादन भएको छ। नवलपुरमा १९ हजार ३९४ हेक्टर क्षेत्रफलबाट ७८ हजार ६१३ मेट्रिक टन धान उत्पादन भएको छ। स्याङ्जामा १३ हजार ६८२ हेक्टर क्षेत्रफलमा ५७ हजार ५०२ मेट्रिक टन तथा तनहुँमा १० हजार ५२५ हेक्टर क्षेत्रफलबाट ४४ हजार २३८ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ।
उच्च हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने धान खेती नगण्य रहेको देखिएको छ।

मकै उत्पादन स्थिर, गहुँ खेती र उत्पादनमा निरन्तर गिरावट
गण्डकीमा पछिल्ला चार आर्थिक वर्षको कृषि तथ्यांकले मकै उत्पादन तुलनात्मक रूपमा स्थिर देखिए पनि गहुँ खेतीको क्षेत्रफल र उत्पादनमा निरन्तर गिरावट आएको देखाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा गण्डकी प्रदेशमा १ लाख ५० हजार ३६४ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको थियो। उक्त वर्ष ४ लाख ५४ हजार २६५ मेट्रिक टन मकै उत्पादन भएको थियो। सोही वर्ष ३८ हजार २३३ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदा ९९ हजार ३८ मेट्रिक टन उत्पादन भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा मकै खेतीको क्षेत्रफल घटेर १ लाख ३३ हजार ३१२ हेक्टरमा झरेको थियो। उत्पादन पनि घटेर ३ लाख ९२ हजार ८८५ मेट्रिक टनमा सीमित भएको देखिन्छ। गहुँ खेतीको क्षेत्रफल पनि घटेर ३१ हजार ८६२ हेक्टरमा पुगेको थियो भने उत्पादन ८३ हजार ७११ मेट्रिक टनमा सीमित भयो।
आर्थिक वर्ष २०८०/८१ मा मकै खेती १ लाख ३० हजार ६७१ हेक्टर क्षेत्रफलमा गरिएको थियो। यस वर्ष ३ लाख ८३ हजार ६१ मेट्रिक टन उत्पादन भएको छ। गहुँ खेतीको क्षेत्रफल २९ हजार ५०१ हेक्टरमा झर्दा उत्पादन ७६ हजार ४३४ मेट्रिक टनमा सीमित भएको थियो।
चालु आर्थिक वर्ष २०८१/८२ मा मकै खेती १ लाख २६ हजार ७५७ हेक्टर क्षेत्रफलमा गरिएको छ। उत्पादन भने अघिल्लो वर्षको तुलनामा केही सुधार हुँदै ३ लाख ९३ हजार ३१३ मेट्रिक टन पुगेको छ। तर गहुँ खेतीको अवस्था भने कमजोर देखिएको छ। यस वर्ष गहुँ खेती हुने क्षेत्रफल घटेर २२ हजार ५१७ हेक्टरमा झरेको छ भने उत्पादन पनि ५५ हजार ६६३ मेट्रिक टनमा सीमित भएको छ।
जिल्लागत रूपमा स्याङ्जा, तनहुँ, बागलुङ र गोरखा मकै उत्पादनका प्रमुख जिल्ला रहेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा तनहुँमा २२ हजार १९५ हेक्टर क्षेत्रफलबाट ७३ हजार २४४ मेट्रिक टन मकै उत्पादन भएको छ। स्याङ्जामा १५ हजार ५४४ हेक्टर क्षेत्रफलमा ५३ हजार ६२७ मेट्रिक टन तथा बागलुङमा १५ हजार ५०० हेक्टर क्षेत्रफलबाट ५२ हजार ८५५ मेट्रिक टन मकै उत्पादन भएको तथ्यांक छ।
गहुँ उत्पादनतर्फ कास्की, स्याङजा र बागलुङ अग्रस्थानमा रहेका छन्।
कोदो उत्पादन घट्दो, फापर र जौ खेती पनि संकटमा
गण्डकीमा परम्परागत अन्नबालीको उत्पादन पछिल्ला वर्षहरूमा लगातार घट्दै गएको तथ्यांकले देखाएको छ। विशेषगरी कोदो, फापर र जौ उत्पादनमा कमी आउँदा पहाडी तथा हिमाली क्षेत्रका किसान चिन्तित बनेका छन्।
प्रदेशको कृषि तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा गण्डकी प्रदेशमा १ लाख १० हजार १५१ मेट्रिक टन कोदो उत्पादन भएको थियो। त्यही वर्ष ३ हजार १२३ मेट्रिक टन फापर तथा १ हजार ७०२ मेट्रिक टन जौ उत्पादन भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा कोदो उत्पादन घटेर ८० हजार ७२ मेट्रिक टनमा सीमित भयो। फापर उत्पादन पनि घटेर २ हजार ३२१ मेट्रिक टनमा झर्यो भने जौ उत्पादन १ हजार ३०७ मेट्रिक टनमा सीमित भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा कोदो उत्पादनमा केही सुधार देखिएको थियो। उक्त वर्ष ८६ हजार ५७१ मेट्रिक टन कोदो उत्पादन भएको थियो। फापर उत्पादन २ हजार २९ मेट्रिक टन र जौ उत्पादन १ हजार ६३० मेट्रिक टन पुगेको थियो।
तर आर्थिक वर्ष २०८१/८२ मा पुनः उत्पादन घटेको देखिएको छ। चालु वर्षमा कोदो उत्पादन ७४ हजार १०६ मेट्रिक टनमा सीमित भएको छ। फापर उत्पादन १ हजार ८०८ मेट्रिक टन तथा जौ उत्पादन १ हजार ८९ मेट्रिक टनमा झरेको छ।
जिल्लागत रूपमा बागलुङ, कास्की, स्याङ्जा र गोरखा कोदो उत्पादनका प्रमुख जिल्ला रहेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा गोरखामा १३ हजार ६८ मेट्रिक टन, बागलुङमा १० हजार ७४४ मेट्रिक टन तथा कास्कीमा १४ हजार ८४६ मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांक छ। तनहुँमा पनि ९ हजार ३१७ मेट्रिक टन कोदो उत्पादन भएको छ।
फापर उत्पादन हिमाली जिल्लामा केन्द्रित देखिएको छ। मुस्ताङमा सबैभन्दा बढी ६४४ मेट्रिक टन फापर उत्पादन भएको छ भने मनाङमा २११ मेट्रिक टन उत्पादन भएको छ।
जौ उत्पादनतर्फ पनि हिमाली जिल्लाकै योगदान बढी देखिन्छ। मुस्ताङमा ९१ मेट्रिक टन तथा मनाङमा १०२ मेट्रिक टन जौ उत्पादन भएको छ।
कृषि क्षेत्रका विज्ञहरूले खेतीयोग्य जमिन घट्दै जानु, जलवायु परिवर्तन, श्रमिक अभाव, उत्पादन लागत वृद्धि तथा सिँचाइ समस्याका कारण खाद्यान्न उत्पादन प्रभावित भइरहेको बताएका छन्। परम्परागत र रैथाने बाली संरक्षण, आधुनिक प्रविधिको प्रयोग, उन्नत बीउ वितरण तथा व्यावसायिक खेती विस्तार गर्न सके उत्पादन वृद्धि गर्न सकिने उनीहरूको भनाइ छ।
















